अर्थात-१

पातबाट कैयौंपल्ट हो गाछ झरेको
कैयौं पल्ट झरेको हो आँसुबाट बादल
दुःखको चोर पकेटबाट निक्लिएको हो
सिनेमाको कुनै पुरानो टिकट ।

जसरी बनियो-भत्कियो
या त टुट्यो-फूट्यो जस्तै उपक्रमहरु इतिहासमा
जस्तो कि-
फूलबाट असंख्य उपत्यकाहरु !
काँडाहरुबाट कहानीको अनाम चिट्ठाहरु !

एउटा गाँठो खोल्दै जाँदा फुक्लेको परिचयको अनगन्ति टुक्राहरु जस्तै
यी टुक्रा टुक्रीहरुले एक दिन बलियो बागडोर थामेका पनि थिए

त्यही टुक्रा टुक्रिहरुले गतिलै साम्राज्य धूलो पारेका पनि थिए !
जसरी छालाबाट छिलेर निकालिन्छ चमडाको रक्ताम्मे परत
धोइन्छ, निचोरिन्छ, सुकाइन्छ

बनाइन्छ तिनैबाट दामी सामग्रीहरु !
त्यतिबेलासम्म तिनिहरु मरिसकेका हुन्छन् ।

कैयौं पल्ट कहिले घाम डडेको हो
कैयौं पल्ट म आफू !

निर्मल आग्रह

यी सुख भनिने अनुभव जो सधै कही न कही बन्द रहन्छ कुनै अभेद भित्त ।
निश्चित छ मृत्युले जुन दिन मलाई टपक्क टिपेर लैजानेछ एकदिन,
कुनै अग्रिम सूचना बिनै,
त्यसबेला मेरा यी आँखाहरु खुल्लाको खुल्ला रहिजानेछन् ।

यस्तो पनि हुनसक्छ एकदिन

अर्थात-२

मभित्र मरिराखेको एउटा काफ्का छ
जस्ले हरेक साँझ मेरो स्टडी टेबलछेऊ
बस्छ
र घाँटी कन्याइरहन्छ ।

सोच्छ होला कि आज डिनरमा के खाने हो ?
छोरीको स्कुल फि यो महिनाको जम्मा गर्नु बाँकी छ
त्यसमाथि फ्रक नयाँ किनिदिनु बाँकी नै छ,
अस्तिदेखि आउने महिना महिना भनि टाल्दै आएको
यो महिना कस्सै गरि पनि जुटाउनै पर्ने भएको छ ।

एक्छिन कुनै महान दार्शनिकको मुद्रा-भावमा एकोहोरी बस्छ
फेरि यकायक के हुन्छ
र माथी आल्मारीमा लहरबद्ध किताबहरु हेर्छ ।

बिहान उठने बेला त्यो सबभन्दा धेर खुसी भएको बेला त्यही हुन्छ
जब चियाको तातो घुट्कीहरुसँगै
घण्टाभर झ्यालबाट वरपर नजर डुलाउँछ
मानौ त्यो कुनै पेशवा हुन र विचरण गरिरहेछ
महानगरको वरिपरि ।

फेरि यकायक कही परबाट हावामा बग्दै आएको
गीतको धूनले छोएर जान्छ

एकपल्ट फेरि गालिबको कुनै मशहूर शेर त्यस्ले बर्बराउछ ।

मभित्र अर्को मार्खेज पनि छन् ।
अझ यस्तै गरि अर्को तेस्रो पनि जस्लाई जादुवाला हुन पर्थ्यो
र यो दुनियाँ उस्ले सोचे जस्तै हुनेथ्यो।
जहाँ सबै उस्को मुठ्ठिमा र उसैको हकडक चल्थ्यो ।

मभित्र मार्खेजले पालीराखेको सय ओटा सेता हात्तीहरूको एउटा जङ्गली झुण्ड पनि छ,
जस्लाई उस्ले श्रीलंकाबाट समातेर ल्याएका हुन् ।
ऊ जहिले तहिले सपनीको दुनियाँमा हुन्छ
नीला रंगका पहाड श्रृंखला पहिलोचोटि मार्खेजले नै
उमारेका थिए हाम्रा अवचेतनमा
राता मयूरमाथि पहिलो फोटोग्राफी उसैको थियो
उस्का एक तोता पनि थिए
जो उस्ले एकजना आर्मी अधिकारीलाई प्रेजेन्ट दिएथे ।

मभित्र मरिराखेको एउटा काफ्का छ
जो हरेक बर्ष लक्ष्मी पूजाको फेस्टिभ सीजनमा
यदाकदा सहरको सबभन्दा पुरानो र बदनाम गल्लीहरुमा आहोर दोहोर
गरीबस्छ ।
फाटेको कमीज, थोत्रे प्यान्ट, मैला केस, अनिदा राता आँखाहरु बोकेर महानगरको साँघुरा मोहल्लातिर लर्बरिन्दै हिँड्छ ।
त्यो कुनै आधा पागल त आधा फ्रस्टेडड कवि !
घरि कुनै गजलका धुनहरु निकाल्छ
घरि कुनै चर्चित हिरोको यादगार डायलागहरु बोल्छ
एक्छिन मौन बस्छ र एकाएक सहरलाई खुब सराप्छ !

पाकेटमा ठुटा सिगरेटहरु
र ओठमा बिडी चेपेर कहिले नदेखेको घर खोजी बस्छ । मानौ ऊ नयाँ कोही देवकोटाको आधुनिक अवतार हो । जसरी मदनले परदेशमा मुनालाई सम्झेको जस्तै
अतीतको दिनहरूमा आफ्ना प्रेयसीलाई सम्झन्छ ।