म एउटा आकृति,
जसमा ठोक्किँदा सूर्यका किरण
अवशोषित हुन्छन्
अनि म चमक्क चम्किन्छु
र छेवैमा
एउटा कालो, समयसँगै कद फेरिरहने
प्रतिछाया लिएर
हरेक दिन सांसारिक मोहका
कयौं चक्कर लगाइरहन्छु
हो, म त्यही एउटा आकृति !
हो म त्यही एउटा आकृति,
जसभित्र भरिँदा,
हावाका झोका र पानीका थोपा
संचालित हुन्छन्
अनि म स्फुर्त हुन्छु
र छेवैमा रहेको
मनमोहक प्रकृतिलाई
सहकार्य गरुँ भन्दै
आफ्नो एक मुठ्ठी सास दिएर
सजीव बनाउन हिँड्दछु,
हो, म त्यही एउटा आकृति !
हो, म त्यही एउटा आकृति,
जसभित्र समाहित हुँदा,
हिउँको चिसो पनि
शक्तिमा प्रज्ज्वलित हुन्छ !
अनि म संसार जित्न,
अनेकन् औजारहरु लिन्छु,
र छेवैमा रहेको
हजारौंको भीडमा,
आफ्नो अस्तित्व रक्षार्थ,
हरेक प्रहरमा खटिरहन्छु,
हो, म त्यही एउटा आकृति !
हो, म त्यही एउटा आकृति ,
जसभित्र,
सुझबुझ सहितको
सानो दिमाग छ र त,
आफूजस्तै अन्य आकृतिभन्दा
पृथक देखिन्छु
नत्र त सजीव हुनु र निर्जीव हुनुमा
के पो फरक छ र?
आखिर,
घामका किरण, पानीका थोपा
अग्निको ताप र हावाका झोकाले
कसलाइ भेवदभाव गर्छन् र ?
छेवैमा रहेका हरेकले
उत्तिकै उर्जा प्राप्त गर्दछन्,
र त,
ठूलो परिवर्तन ल्याउन सक्ने,
सानो मगज भएकै कारण,
म एउटा मान्छेरूपी
त्यही एउटा घनिभूत आकृति ,
हो, म त्यही एउटा आकृति !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।