मधुसुदन घिमिरे

लुलु तिम्रो यादमा
म झरी बनेर बर्सिन्छु आँखाबाट,
र छचल्किन्छु आधा गाग्रोबाट पानी छल्किए जसरी
म कहिले फूल भनेर फुलीदिन्छु ओठहरूमा,
र गुनगुनाउँछु तिम्रै बारे लेखिएका अधूरा हरफहरू
कहिले यसै चुपचाप चुपचाप
हुरी थामिए पछिको बस्ती जस्तो भैदिन्छु,
एकदम शून्य
कहिले म तिम्रा स-साना पाइलाहरू हिँडे जसरी बेफिक्री भएर
तिम्रै खोजीमा सम्झनाका गल्लीहरूमा भौतारिरहन्छु
यसरी कि,
जसरी कुनै भुसिया कुकुर अँध्यारा गल्लीहरू चाहार्दछ
लुलु तिम्लाई म
हद भन्दा नि बढी माया गर्छु।

तिमी नहुदा
भएर पनि जून ताराको साम्राज्य
एक्लो देख्छु यो आकाश
सुनिरहँदा मानिसहरूको खल्याङबल्याङ
एक्लो पाउँछु यो धरती
बाटो एक्लो, गल्ली एक्लो
भीड नै सही तर पनि भीड एक्लो
तिमीबिना त मलाई
मेरै भनेको मुटु पनि
मेरो लाग्दैन, जो धड्किन्छ सदा तिम्रै नाममा।
लुलु तिम्लाई म
हद भन्दा नि बढी माया गर्छु।

मलाई एउटा विश्राम चाहिएको छ लुलु
छरपस्ट भएका सपनाहरूलाई एकमुस्ट बनाउनु छ,
तिम्रा मेरा रहरहरूलाई सङ्गाल्नु छ,
र फुलाउनु छ तिम्रो मुहारमा सूर्यमुखी
तिमीलाई यसरी माया गर्नु छ एउटै गतिमा
मेरो ढुकढुकीको अन्तिम गति नरोकिए सम्म
अङ्गाल्नुछ तिम्लाई
मृत्यु नै चुनौती बनेर नआए सम्म।

लुलु तिम्लाई म अँजुली भरी समेटेर
सास नै नबिसाईकन घुटुघुटु पिउँन चाहन्छु,
म तिम्लाई आफ्नो बनाउन चाहन्छु
सम्पूर्ण आफ्नो
बरु मेरै जीवनको रङ्गले नपुगोस्,
इन्द्रेनीको रङ सापटी लिएर तिम्रो जीवन रङ्गिन बनाउन चाहन्छु
त्यसैले लुलु तिम्लाई म
हद भन्दा नि बढी माया गर्छु।