वेदना राई

१.
हरियो आँखा

मन्त्रमुग्ध मेरो संसारमा
भोकमारी छैन
लटरम्मै शब्दहरु फलेका छ्न्
भुइँभरि आशाहरु उम्रेका छन्
२४/७ गुन्जिरहन्छन् विचारका सङ्गीत
यही सङ्गीतलाई लय दिन खोज्ने
म हरियो आँखा ।

२.
वैजनी शहर

वैजनी रङमा शहरै लतपत भए पनि
यहाँका घरहरुसँग
वैजनीको लिनुदिनु केही छैन
शहरै वैजनी भए पनि
मान्छेहरुमा वैजनीको त्यान्द्रोसमेत
भेटे त मार्दिनु!

आउन र जानलाई गेट नभए पनि
मान्छेहरु प्रायः थुनिएका भेटिन्छन्
यो शहर कयौँको सपनाको प्रतिमूर्ति
तर यस्को मिजास निमोठ्ने खालको छ
शहर जुनसुकै रङमा लतपतियोस्
सबैले देख्ने भनेको मात्र ‘ब्ल्याक एन्ड ह्वाइट’

यो शहरले जिउँदो सास
भन्दा धेरै जिउँदो लास बोकेको छ
त्यसैले शहरै हलुँगो छ
अनुहार फुङ्ग उडेको
अनि जाबो वैजनीले
के रङ भर्न सक्थ्यो!!

वेदना राई

(कवि राई रंगकर्मी हुन्।)