इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको अपमान हो ।
साहित्यपोस्ट सत्ता र शक्तिको भरमा कसैको इतिहास मेटाउने पक्षमा छैन । राजाका रुपमा उनको गुण दोष केलाउने हाम्रो काम होइन तर कविको रुपमा उनको सम्मान गर्नु हाम्रो धर्म हो । यसै सन्दर्भमा आज राजा महेन्द्रको सयौँ जन्मजयन्तीको अवसरमा आज दिनभरि नै उनका सामग्रीहरु पस्कने छौँ।

स्मरण शृंखलाअन्तर्गत मवीवि शाहको चर्चित कविताः

देखेँ जसै तिमीलाई तस्वीरमा
धेरै दिनअघि, मनमा
अनि तनका दुवै आँखाले अस्ति मात्र
टाढैबाट
दूरबीन थपेर
डाँडाबाट
पारीबाट
माथिबाट हिउँमा बसेर।
अफसोस! तैपनि-
कहाँ देखेँ र तिमीलाई दूरबीनका दूलाबाट
न तिमीलाई, न तिम्रो गहिराइलाई, न सौन्दर्यलाई।
पहिलो दृश्यमा
देखेछु मैले ता तिम्रो सट्टा
तिम्रो सुकोमल शरीरमाथि
उफ्रिरहेका
नाचिरहेका
उर्लंदो छालमा डुबुल्की मारिरहेका
उषाको लालीमा
मध्याह्नको रिमझिममा परेको इन्द्रेनी डाँफेका प्वाँखमा
वसन्तका रसिला कोपिलाहरू- सुसाएका सल्लामा
साथै लेकका लालीगुराँस-थुँगामा
अनि देखेछु अझै- सन्ध्याको सुनौलो वेला
सम्पूर्ण- मेरा गीतहरू संगीतमा घोलिएका-
देखेँ चकमन्न कालो रात छेडेर भर्खरै निस्केका

चाँदका रश्मि पनि-
अनि, अनि मात्र, अन्त्यमा देखेँ
अनुहार मेरी प्रियाको, प्रिय वस्तुको
सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो-
रारा ! रारा !! रारा !!!
देखेर अल्मलिएछु, सायद
म आफैँ बेहोशले
तिम्रो सुन्दरतामा।
तैपनि तिमीलाई चिन्न सकिनछु,
बोल्न सकिनछु,
व्याख्या गर्न मेरो कलमै चलेनछ।
त्यसैले अत्तालिँदै सोधेछु,
कराएछु, चिच्याएछु
ए! रारा! बताऊ!
रारा भनेको तिमी को हौ?
स्वर्ग कि अप्सरा?
अथवा, इन्द्रको कोपले गर्दा
झर्यौ पृथ्वीमा, धेरै वर्षअघिदेखि
रहिआयौ यस सुनसानमा उपेक्षित?
भन! भन- बिन्ति छ मेरो
अथवा- स्वर्ग नै ठान्यौ तिमीले झुक्केर
आई अनि बस्यौ यस पृथ्वीमा
एसियाको धुकधुकीमा
रारा- मा, नेपालमा
नेपालीको यो प्यारो देशमा?
पातली, कम्मर छिनेकी
सुन्दरी युवती सरि
कसरी जान्यौ, लागू भरेर, जादू गरेर
ती ठूला परेली आँखा झिम्काउन, लोभाउन
जसले हेर्छ तिमीलाई एकैचोटि मात्र पनि?
कसले सिकायो भनन- ए रारा तिमीलाई
प्रत्येक छालमा रत्न जड्न
घोलेर पिलाउन, भुलाउन
अमृतका घुड्का सासका घुड्कै पिच्छे?
अनि, अनि सुखमय, शान्तिमय
परमेश्वरको देन-
प्राकृतिक सुन्दर दृश्यलाई घोचेर
लालची आँखाको नानी छिचोली
मनुष्यको न्यानो मुटुको भित्रसम्म पुग्न?
या पठायो कसले तिमीलाई
गीतमा संगीत भर्न
कल्पनामा कविता कोर्न
अनि छातीमा टाँस्सिन, टाँस्सिइरहन?
हे पवित्र प्रकृतिका स्वामी!
अझै जसले पृथ्वी, ग्रहादिलाई झुण्डयाई, रिङ्ग्याइरहेछ
मनुष्यलाई पालैसँग सास फेराउँदैछ
भनन यो के हो? के आज-
विश्वको चोखो प्राकृतिक सुन्दरता
छैन कतै अन्य संसारमा?
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर
के खन्यायौ यसै रारा-मा? घोलेर मिलाई-
पहिराई हिमगिरिका मुक्तहार गलामा
हरियो सुखमय प्राकृतिक मानव-जीवनमा
नेपालीमा-
हाम्रै प्यारो नेपालको
सूर्य-चन्द्राङ्कित ध्वजाको,
स्वतन्त्र छायाँमा
हिमालमा
नेपालमा
राम्रो रारा-मा?