तिलक चुँदाली

म उस्तै त छु
केवल यी केश पाके
धुमिल बने आँखा
धर्मराउन लागे यी गोडा ।

म ओतिने ओत
उस्तै त छ अझै
तिमि ओत लाग्ने बेलाकै जस्तो
केवल छानो धान्ने यी
केही जोर भित्ताहरु
सुनाउँछन् सुस्केराहरु अचेल ।

झुसिलकिरा थियौ सायद
जानी-नजानी रङ्ग भरें
उड्नै नमान्ने तिमिलाई
कठोर बन्दै लात्ती देखाएं
तिमी पुतली थियौ र त उड्यौ
तिमी चरा थियौ र त उड्यौ।

तिम्रो आकाशबाट
धुजा परेका पातहरु
यो खाली गुँड
कमजोर यी गोडा
रङ्ग भर्ने हातहरु
कस्ता देखिन्छन होला
कि कतै धुमिल धुमिल बन्दै
अन्त्यमा मेटिन्छन् होला?