वाशु शर्मा

 

बासु शर्मा

समुद्री किनारामा
एउटा माछाको पार्थिव शरीर
समुद्री छालहरूले फ्याँकिदिएछन्
सखारै
मान्छेहरूलाई सोध्दै
किन ?
उसको अकाल मृत्यु किन ?

छालहरूको
अर्थात्, समुद्रको
प्रश्नको जवाफ खोज्दै
पोष्ट-मार्टेम गर्न जुटेका विशेषज्ञहरूले
उसको मृत्युको कारण
दुनियाँलाई सुनाउँदा
दुनियाँ स्तब्ध
दुनियाँ झसङ्ग
तर मान्छे ?

माछाको पेटमा भेटिएको
प्लास्टिकको डल्लो
ग्लासका धारिला टुक्राहरू
अनि
च्यातिएको घाँटीको नसा
फुटेका रक्तनलीहरू
अक्सिजन छान्ने गिलको जालीमा
रसायन र कार्बनका अवशेषहरू
मृत्युका कारणहरू
हो,
प्लास्टिक
ग्लासका टुक्राहरू
र, प्रदूषित पानी
माछाको मृत्युका कारणहरू ।

पोस्टमार्टेमको रिपोर्ट सुनेर
हिमालमा यती झस्कियो
आफ्नो हिमाललाई नियाल्दै
अनि
हिमाल आरोहीहरूले फ्याँकेर थुप्रिएका
प्लास्टिक र ग्लासका डङ्गुरहरू हेर्दै
गौचरणमा गाई आत्तियो
घाँसको बुझोसँगै चपाएर निलेको
प्लास्टिकको थैलो सम्झिदै
जलचरहरू अत्तालिए
दूषित हुन थालेको आफ्नो जलाश्रय छाम्दै
खेत र बारीका पाटाहरूमा
बालीनालीका बोट बिरुवाहरू तर्सिए
रसायनले चाम्रिन थालेको माटोमा
कमजोर हुन थालेका जराहरू सुम्सुम्याउँदै
हो,
चराचर जगत झस्कियो
समुद्र, धर्ती र आकाश सबै तर्सिए
तर मान्छे ?

लाग्छ,
मान्छेको चेत अझै खुलेको छैन
उल्टै
आफ्ना अवान्छित कर्महरूले
जल, थल र वायुलाई
बिटुल्याइरहेछ निरन्तर
र,
माछाको पोस्ट-मार्टेम रिपोर्ट पनि
मान्छेका लागि भने
आ-आफ्नो स्वार्थको चासो बनेको छ
आ-आफ्नो कुरा बुन्ने हतासो बनेको छ
बरा ! मान्छे
आफ्नै अस्तित्व माथिको खतराप्रति
बेखबर झैं
अनदेखा गर्दैछ अझै
ऊ,
चेतनशील प्राणी अरे
फेरि पनि
चेतनाकै खेलोफड्कोमा रमाइरहेछ

विवेकशील प्राणी अरे
तर पनि
विवेकलाई नै नजरबन्दी बनाइरहेछ
हो, विवेकलाई नजरबन्दी बनाइरहेछ।

 

लन्डन