साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः सेल्फी खिच्दै काठमान्डु

Chovar Blues Mobile Size

सदीयौंदेखि
पशुपति वरपर सल्बलाउने
एक हुल बाँदरहरू
चोर्न मात्र खोज्छन्
मान्छेका अनुहारहररू,
स्वयम्भू चढेर भेडाहरू
चिथोर्न मात्र खोज्छन्
न्यायका आँखाहरू
न तिनलाई देउताको वास्ता
न तिनलाई न्यायको सुर्ता

कोही आउँछन् आस्थाको घन्टी बजाउन
कोही आउँछन् सत्यको आँखा नियाल्न
कोही आउँछन् भविष्यको अनुहार खोज्न

हाय काठमान्डु
कसरी धान्छौ तिमी
मान्छेले पुजेका भेडाहरू
भेडाले लखेटेका गोठालाहरू
भेडाका बिर्किम्ला टिप्ने मन्डली
मन्डलीका परम भक्त भजौटेहरू
छिमेक पसेर रासन खानेहरू
पल्तिर पुगेर पुरा खानेहरू

जगन्नाथ पौडेल

हो काठमान्डु
यहाँ भेडालाई पशुपतिझैं
पुज्छन्
पशुपतिलाई भेडाजत्तिको पुज्दैनन्
बस्
पशुपति हेरिरहन्छन् बाँदरहरूको जात्रा
भेडाहरू बिर्काइरहन्छन् नग्नभग्न अवतार
बाँदरहरू लुछिरहन्छन् आस्थाका फूलहरू
भुत्लाएर फ्याँक्छन् काठमाडौंको शिर
खुलेआम गर्छन् नैतिकतामाथि सम्भोग
उखालेर आँखाको डिल
चिथोरेर छातीको आस्था
पलपल कुल्चिन्छौ तिमी

sagarmani mobile size

न फक्रिन दिन्छन् रत्नपार्कमा गुलाब
न फुल्न दिन्छन् गोदाबरीमा मखमली
न बग्न दिन्छन् वागमतीमा पानी

थुनेर टुकुचा
मिचेर सडकगल्लीहरू
ठड्याउँछन् जून छेक्ने अग्ला भद्दा महलहरू
होचा धुलाम्य छाप्राहरू
अनि उमारेर
भुनभुनाउने फोहोरी कीराहरू
ठुँगाउँछन् बटुवाहरूका सपनाहरूमाथि
यहाँ गर्नुहुन्न सफाइ
पुज्नुहुन्न पशुपति
पस्नुहुन्न जूनको उज्यालो
बग्नु हुन्न सफा पानी
चल्नुहुन्न मधुर हावा
उठेर अरिंगालका झुन्डहरू
बोकेर बिसालु झन्डा
उठाएर बेतुकका डन्डा
बर्साउन तम्सिन्छन् कलिला बिहानीहरूमाथि

हो काठमान्डु
तिम्ले नै जन्माएको एउटा कुपात्र
आमाको छाती बेचेर खान्छ
अर्को बाउको इमान ठगेर हिँड्छ
कुपात्रले उडाएका
काला कागहरू
तिम्रै आँखा ठुँग्न आइपुग्छन् टाउकोमाथि

हो निरीह काठमान्डु
तिम्ले नै पालेका भेडाहरू
तिम्ले नै सँगालेका बाँदरहरू
भत्काउँदै स्ययम्भूको आस्था
उखालेर पशुपतिको उचाइ
नीलडाम पारेर साँगुरा सडकमाथि
धब्बा पारेर तिम्रो अनुहारभरि
लेखिरहेका थिए फोहोरी इतिहास

तर अब
फेरिएको छ आकाशमा बादल
हट्दैछ घाम छेक्ने हुस्सु
सुनौलो पार्न तिम्रो अनुहार
एउटा ध्रुवतारा उदाइरहेछ
आकाशमा
बस पर्खनु पर्छ केही समय
बादल फारेर आकाशमा
पोख्दैछ उज्यालो चिराग
लिंदैछ हँसिला सेल्फी
र प्रदर्शन गर्दैछ सुकिला अनुहारहरू !

प्रतिक्रिया
Loading...