डा. घनश्याम न्यौपाने परिश्रमी

सफा छ आकाश सफा धरातल,
नदीहरूमा जल बग्छ निर्मल ।
बहन्छ हावा पनि मन्द शीतल,
शरद रमायो नि हटेर बादल ।।१

रमाइलो प्राकृत भाव सङ्गम,
हिमाल हाँस्दै छ अहा ! मनोरम ।
वसन्तभन्दा पनि लाग्छ उत्तम,
छ शारदी शोभित भव्य मौसम ।।२

छ खेतबारीभरि नै हरित्पन,
पाखाहरूमा हरियै छ रोगन ।
फुल्दा अनेकौँ मधुपुष्प मोहन,
शरद अनौठो ऋतु लाग्छ कञ्चन ।।३

अनेक फल्छन् फलफूल मौसमी,
कुनै कुराको पनि छैन झैँ कमी ।
खुसी निकै छन् कृषिकर्म उद्यमी,
रमूँ शरद्मा कि म कल्पना गमी !!४

धुलो न उड्ने, न कतै हुने हिलो
यो पर्वको मौसम हो रमाइलो ।
भएँ कि झैँ लाग्छ स्वयम् म फुर्तिलो,
शरद हुनाले अतिरेक पोसिलो ।।५

धर्ती यही स्वर्ग समान लाग्दछ,
विकार, चिन्ता अलि दूर भाग्दछ ।
सौन्दर्य सम्बोधन राग माग्दछ,
शरद सबैका मनभित्र जाग्दछ ।।६

भागेछ गर्मी अहिले निकै पर,
हिँडेछ वर्षा पनि लुक्न भर्खर ।
शीतोष्णको साम्य प्रभाव सुन्दर,
आयो रमाएर शरद् मनोहर ।।७

परिश्रमी निकेतन, बर्दघाट, नवलपरासी