आयुष बस्नेत

चिसा दाउरा
जल्न नसकेको लास
मलामी कानेखुसी गर्न लागे
हरे ! कस्तो पापी
सास विहिन लास पनि जलेन
कस्तो प्रतिक्रियावादी सोच ?
हर कुरामा टिप्पणी गरिहाल्ने
कस्तो निराशावादि चिन्तन ?

श्रीमतीको श्रृङ्गार खोसियो
सिन्दुरका धर्का मेटाइए
धर्काहरु सँगै सपनाहरु मेटिए
बूढि आमा मृत्यु शोकमा बेहोस छिन
यस्तो लाग्छ
अब उनलाई होसमा आउनु नै छैन
जलिरहेको आफ्नै छोरालाई हेर्नू छैन
आकाश मडारिरहेछ
चराहरु अताल्लिएर उडिरहेछन
मलामिहरु व्यस्त छन
फेसबुकमा,
युटुवमा,
टिकटकमा
स्थिती भयावह छ
मलामी रमिता हेरिरहेछन्
केही गिल्ला गर्दैछन्
केही शोकमा कठैवरा ! भन्दैछन्
फेरि एक मलामी चिच्यायो !
ए ! छिटो जला न
अर्काले चितामा घारो बजार्यो
श्रीमती पीडाले चिच्याइन
त्यसरी नहिर्काइदिनुस न दुख्छ
विन्ति बिसाउन लागिन्
देखेर मलामी हाँस्न लागे
लाग्यो मृत्युशोक कहिल्यै पर्दैन उसलाई
छि !
घृणा लाग्यो मानवताविहिन मगजहरु देखेर
नैतिकता मरिसकेका विचारहरु देखेर
अनि फेरि,
घृणा जाग्यो आफैप्रति
बाँच्न परेकाले यस्तो बिकरालपूर्ण समाजमा ।

– आयुष बस्नेत
बकैया, मकवानपुर