गौरी कडेल

संघर्षपूर्ण कथाहरुले भरिएको
दुःख र कष्टलाई साक्षी बनाएर
अनवरत यात्रामा दौडिरहने
मेरा बा हुन् ।

अथाह साहसहरु बटुलेर
जीवनको खुसी भेटाउँन कुदिरहेछन्
तथापि देखाउँदै खुइलिदै गएको तालु
र पैतालाको खिलहरुसँगै
सोचिरहेछन्, किन खुसीहरु बटुल्न सकिनँ।

महङ्गीले थिचेपछि वर्तमानमा
सोचमग्न बनाएको भविष्य भेट्न
जुनकिरीको ज्योतिमै पनि
घिस्रिरहेका छन् मेरा बा ।

उनी मेरो खेल मैदान हुन्
जसको पिठ्युँ– मेरो चिप्लेटी
पाखुरी–मेरो पिङ
गोडा– मेरो ढीकिल्चाई
छाती– निदाउने ठाउँ
जहाँ म निर्वाध डुबेको छु ।

कालिगढको घनहरुले ठोक्छन् दुःख, पिडाहरुलाई
र ओठमा भर्छन् मन्द मुस्कान
जलिरहेको आत्मा लुकाउँछन्
र सिकाउँछन्, जीवनको आदर्श
अत्यास लाग्दो समय जिएर
कर्तव्य पढाउँछन् मलाई
र भन्छन् –स्वावलम्बी बन्नु नै जीवन हो ।

सीमानाहरुमा अतिक्रमण बढेको बेलामा
यो देशको माटो जोगाउन
सिङ्गो देश खोकिलामा राख्ने मेरा बा हुन् ।

आऊ यो देश देशजस्तो बनाउँन
बाहरुसँगै नयाँ युद्धको शुरुवात गरौँ
र घोषणा गरौँ
यो देश निमुखाहरुको पनि हो ।

बकैया –४ मकवानपुर