साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः स्मृतिमा म

Chovar Blues Mobile Size

कहिले भिरियो धोती भिरियो अनि कन्धनी
केही शेष छँदै छैन स्मृतिको विम्बमा पनि ।।
नधोई वस्त्र थोत्रिन्थे चिथ्रा वस्त्र कता धुनु
बाल्य-स्याहार सम्भार आज जस्तो कहाँ हुनु ।।

अनायासै कतै जाने सिढीँमाथि चढेछु म
ढुङ्गाको कापमा बढ्ने बुटोजस्तै बढेँछु म।।
मेरा साथी सबै गर्थे घरभित्र ढलिमली
आफ्नो जीवनका कष्ट म त सम्झन्छु झल्झली ।।

घटनाहरु सम्झेर त्यागेँ अरण्यरोदन
मेरो रोदनमा मेरै भिज्दैनन् अब लोचन ।।
कसैले चिन्नु पर्दैन त्यो आफ्नो भाग्य चिन्छु म
आफैँलाई सकेसम्म आफैँ ढाडस दिन्छु म ।।

होम सुवेदी

कोट्याई भूतको गर्भ महामानव हुन्छ को
इतिहास थियो अर्कै सम्झेर अब रुन्छ को ।।
व्यथाका रास छन् धेरै झन् धेरै दुःख दर्द छन्
मनमा कहिलेकाहीँ हुँडलो अति गर्दछन् ।।

sagarmani mobile size

यसैले यिनकै लागि केही लेख्ने भएँ अब
आफ्नै जीवन यात्रामा भूततर्फ गएँ अब ।।
पितामाता दुबैबाट स्नेहको बिन्दु देखिनँ
दुबैको ताडना मात्रै पाइन्थ्यो दिनका दिन ।।

तथापि अहिले मेरो दुबैमाथि छ आदर
पिता माता दुबै माथि रिसाई अब हुन्छ र ।।
माताबाट पिताबाट कुटाइ खाइँदैन र
जन्माए अनि हुर्काए त्यही नै काफी हैन र ।।

बालकै कालमा मेरो अक्षरारम्भ भो सुरु
सश्रद्धा आज सम्झन्छु पिता हुन् पहिलो गुरु ।।
ताडना मात्र के हुन्थ्यो माताबाट घरी घरी
पिताबाट चिनेँ मात्रा माताबाट उसै गरी ।।

व्रतबन्ध भयो कैले कहिले वेद भो सुरु
मकैका ढोड बालेर राती पढ्थेँ सुरुबुरु ।।
पिटाइ मात्र के हुन्थ्यो दीक्षा झन् उच्च पाइयो
तिथी नक्षत्र योगादि माताबाट सिकाइयो ।।

कौमुदी पढ्नका लागि श्रीचम्पा गाउँमा गएँ
गुरु माधवको एक म प्यारो शिष्य जो थिएँ ।।
गुरु माधवकै हात समाएर अघि बढेँ
रघुवंश पढेँ मैले वियोग अजको पढेँ ।।

कहाँ गम्भीर त्यो काव्य कहाँ पूर्वीय सम्पदा
छिमोल्ने आँट जिम्लेर काँचो काँचै भएँ म ता ।।
पूर्वेली काव्यको सिन्धु पसेर रुझ्न सक्छ को
महत्ता त्यसको उच्च बुझेर बुझ्न सक्छ को ।।

अनुयायी बनूँ भन्ने लाग्थ्यो देखेर सम्पदा
त्यही बाटो हिडूँ जस्तो सोच हुन्थ्यो यदाकदा ।।
त्यसैले त्यसको बारी खनिखोस्री जसो तसो
नभन्दै यस मेलोमै पसिएछ कसो कसो ।।

पहिले पहिले यत्न गरेर थोर लेखियो
आफूलाई त्यसै भित्र महापण्डित देखियो ।।
शब्द विम्ब र सौन्दर्य भर्नमा गरियो बल
हलक्क यो बढोस् भन्दै छरियो भावको मल ।।

प्रयत्न गरियो उच्च पारी सुस्थिर यो मन
कविता लेख्नमै नित्य कवितै गर्न वाचन ।।
गरियो जिन्दगी आफ्नो कवितामै समर्पण
कवितैमा भयो श्राद्ध कवितैबाट तर्पण ।।

उच्च काव्य गरूँ भन्ने आकाङ्क्षा मनमा थियो
यथासम्भव सत्काव्य भर जीवन लेखियो ।।
एकै पल्ट भयो ज्ञान कविका गोष्ठीमा चरी
यस्ता वाचनले मान्छे कहाँ हुन्थ्यो अजम्मरी ।।

न स्थायित्व थियो मेरो न थियो थोर सञ्चिति
व्यवहार थियो सामु थियो बेग्लै परिस्थिति ।।
लेखेर न हुने केही न बन्ने याम नै थिए
भाषामा किन हो मैले धसिने प्रश्न वैरिए ।।

किन धस्सिनु हो मैले कवितामा घरी घरी
कविताबाट चल्दैन व्यवहार कसै गरी ।।
विलम्ब धेर भो भन्ने स्वयंमा ज्ञान भो जब
लाग्दै छ मृत्युको घन्टा थाप्लोमाथि बज्यो अब ।।

उकालो चढ्नु जो पर्थ्यो ओरालोतिर दौडिएँ
हातखुट्टा दुबै बाँधी खोलामा किन पौडिएँ ।।
भित्री ज्ञान भयो मेरो वय सारा गएपछि
प्राप्तिको नाममा शून्य हातलागी भएपछि ।।

रमिता हेर्न छाडेर कविता अब गर्दिनँ
जोतेर गहते डाँडो अब पाङ्दुर छर्दिनँ ।।
जे सकेँ जे गरेँ मैले कसैको नगरी भर
खोरिया खन्नका लागि मलाई अब के डर ।।

आफ्नै छन् पाखुरी मेरा कसैको भर पर्दिनँ
खेतालो लाउने मेलो कहिल्यै अब गर्दिनँ ।।
भरिया लाउँदै कोही थाप्लैमा माथि उक्लिए
म थाप्लोमाथि के पुग्थेँ नपुग्दै दाँत फुक्लिए ।।

कसैले भन्दछन् हेर सत्ताको गर कीर्तन
सत्तापूजनमा मेरो भएन कहिल्यै मन ।।

पुरस्कार र सम्मान पाउने छ भने मन
कसैले यो भन्यो “हेर सत्ताको भरिया बन,
त्याग नैतिकता आफ्नो सत्तालाई सधैँ भज
अनि बन्छौ तिमी हेर देशको एक दिग्गज ।।”

मन्त्रदान गरे यस्तो धेरैले आई कानमा
भुलिनँ कहिल्यै थोत्रो सत्ताको यश गानमा ।।
कसैले पनि पाउन्न पदवी नगरी छल
नातागोता भए भाइ भिडाऊ त्यसको बल ।।

नगरे चाकरी आफ्नै हुनसक्छ ठुलो खती
आफन्तगणको राय मन्त्रणा कति हो कति ।।
कहिल्यै नझुकोस् मेरो पापीका सामु गर्धन
कसैको नगरूँ दैव जानेर मानमर्दन ।।

मनमा न्यायका घाम झुल्कियून् जहिल्यै पनि
ममा अन्यायको घन्टी नबजोस् कहिल्यै पनि ।।

होम सुवेदी
भद्रपुर झापा
लेखन २०३१ सालदेखि
कृति कविता कथा निबन्ध समालोचनााका गरी आठ प्रकाशित
विभिन्न पुरस्कार स सम्मानबाट सम्मानित ।

प्रतिक्रिया
Loading...