१.

अचेल
खोलाले तिर्खाएर पानी खोज्छ
पानी भने पोलिथिन पाइपभित्र
खोलैखोला भएर बग्दै छ ।

खोलामा बगेको पानी
खोलाले नपाउनु भनेको
खोलामा नै सानो मरुभूमि बनिनु हो ।
“बर्खामात्र लागोस् न”
भन्दै “लाखेस्”मात्र गर्न सक्छ
तृषित खोलाले।

राजु प्रधान “हिमांशु” (खरसाङ)

२.

अचेल
खोलाले
सेनिटरी नेपकिनले मुख पुस्छ
पोलिथिनको झुत्रोले खुट्टा धुन्छ
उसको छातीमा बग्ने शीतल पानी
मान्छेको बिजिनेसमात्र भयो।
पानीको माग गर्ने आवाजचैँ अति चर्को भयो ।
सुकेर खोक्दै दुखिरहेको
खोलाको खोकी सुन्ने भने कोही छैनन्।

लाखे घरहरू बेस्सरी उम्रिएर
खोलाको छाती नै च्यातियो।

खोला
कति रुँदो हो
आँसुहीन रुवाइ !
कति दुख्दो हो
पानीहीन दुखाइ !

भित्रभित्रै हराएर पानी
खोलाको गीतै अधूरो भयो।
कलकल
झरझर
आवाज सुन्नलाई बर्खै पर्खनुपर्ने भयो।

३.

छातीभित्रका हड्डीहरू उखेल्दा
कति दुख्छ होला खोलालाई ?
मान्छेले सोचेन
तर खोलाको छातीबाट ढुङ्गाहरू निकालेर बेच्यो।
खोलाको मुटुभित्र पोलिथिन पाइप घुसारेर चुस्यो ।
र पनि पुगेन मान्छेलाई खोलाको अमृत !
फेरि नगरपालिकाका गाडीहरू दगुरे
मान्छेकै तिर्खा मेटाउन
सुकाएर खोलाकै आँसु !
दुखाएर खोलाकै छाती !
अहो !
खोला नभएको दिन
मान्छे कति तृषित हुन्छ होला नि !
बुझेर पनि अबुझ बन्छ मान्छे नै ।

४.

त्यही खोलाको पानी पिउँछ मनुवा,
त्यही खोलामा मल फ्याँक्छ मनुवा।

प्रतिबन्धित पोलिथिनको जगटाले
लपेटिएर निसासिन्छ खोला।
घरहरूको अतिक्रमणले
साँघुरिएर अत्तालिन्छ खोला ।

उहिले
घाँस र दाउराको भारी
चप्लेटी ढुङ्गामाथि बिसाएर
खोलाको शुद्ध र चिसो पानीले
परिश्रमी, खाली खुट्टे बाजेले
तिर्खा मेटाएको कुरो
दन्त्यकथा नै भयो ।
अहिले
खोलाको अस्तित्व नै हनन भएर
साँघुरो नाली बन्यो ।

त्यही नाली पनि पोलिथिन ब्यागको पासोमा परेर
फोहरहरू जुलूस भएर
सडक सडक हिँड्दैछन्
अचेल ।

५.

खोलालाई रिस उठेको दिन
सन्तेको घर खोलामै पुग्यो ।
त्यो विदारक दृश्य
बिजू सरको पाँच तले बिल्डिङबाट
छ्याङ्गै देखियो ।
“अब ढुङ्गा ओसार्नु कसरी गाडी पसाऊँ त्यहाँ ”
सोच्दै
बिजू सर सुर्तामा छ
अचेल ।
सन्तेका झिटीमिटीहरू बगिरहेछन् खोलामा।
सन्तेका नानीहरू लम्पसार छन् अस्पतालमा ।
बिजू सर भने
ठेक्काकै सुर्तामा छन्
अचेल ।

६.

मनेले
पोलिथिन ब्यागमा भरिएको मैला
खोलामा नफ्याँक्नू भन्दा त
“तँ को होस्” पो हरे
धनेले।

बर्खामा
त्यही खोला छेउको पैह्रोले
मनेको भान्साकोठा नै स्वात्तै लग्यो,
धनेको घरतिर जाने बाटो पनि चर्कियो ।

कालान्तरमा
धनेको घरतिर जाने बाटो पक्का बनियो
तर मनेले
उसको भान्साकोठा खाने पैह्रोबारे गरेको
आवेदन भने कता पुग्यो पुग्यो ।
अचेल
कालो तारपोलिनले छोपिएको छ
मनेको भान्साकोठा भएको त्यो ठाउँ ।
खै !
मने कहिले धनेझैँ हुने हो !