साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

 भाइरल कविताः मरेको मानिस

Chovar Blues Mobile Size

(‘भाइरल कविता’अन्तर्गत यसपटक  बुद्धिसागरको  बहुचर्चित कविता ‘मरेको मानिस’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनसुकै  बेला चर्चामा आइरहेको हुन्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

 

 कविताः मरेको मानिस

मरेको मानिसले
पछाडि फर्केर, पातको आसझैँ आँसुले टिलपिल भएका
आफन्तका आँखाहरू
हेर्छ कि हेर्दैन ?

मरेको मानिस
हिँड्छ कतिको कोस, कति जुनी ?
कुन नदीको किनारमा
नुहाउँछ चिसो पानीले
र, धुन्छ – गालाभरि बसेका
आँसुका धमिला धर्साहरू,
मरेको मानिस रुन्छ कि रुँदैन ?

बुद्धिसागर
sagarmani mobile size

के–के लैजान्छ
मरेको मानिसले आफ्नो झोलामा ?
जीवनकालभरि सबैबाट जोगाएका
स्मृतिहरू ?
पहिलोपल्ट लेखेको प्रेमपत्र ?
पहिलोपल्ट हिँडेको पाइला ?
प्रिय किताब ?
परिवारको सामूहिक तस्बिर ?
पहिलोपल्ट सन्तानले बोलेको
आफ्नो नाम ?

कि,जान्छ–सबै छाडेर
बिर्सिएर सबथोक,
आत्माबाट मेटाएर
जीवनले कोरेका चित्र र अक्षरहरू ।

मरेको मानिसले
आकाशगंगाको डिलमा उभिएर
मुटुबाट सम्बन्धका ध्वजाहरू
फुकाउँछ कि फुकाउँदैन ?

अन्तिमपल्ट
धरतीतिर फर्किएर,
एकजुनी जीवनमा आफूसँग गाँसिएका
सबै–सबैलाई सम्झिएर
मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको
गोजीमा,
फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

प्रतिक्रिया
Loading...