१.

खुसी

उस्को जीवन गर्जनसहितको
कालो बादल
मेरो जीवन भूइँ कुहिरो झैं
जमिनको सतहमा उड्दै
आकाश खोज्ने तुच्छ तुवाँलो
अनि कहाँ हुन्छ समानता ?
जस्लाई न बादल भन्न सकियो
न सिमलको भुवाँ नै
त्यसैले ऊ जीवनभर गर्जन बोकेर
बाँच्ने अभिमानमा धमिलिइदै गइरहेछ
म हल्का तुवाँलो बनेर
उड्दै उड्दै हिमाल पहाड
बनजंगलका बुट्यानहरुसँग
मितेरी लाउँदै खुसी बाँडीरहेछु ।

आचार्य प्रभा

२ .

अनुवादित पीडा

जब तिमी असन्तोषी भाव बोकेर
झोक्राइरहन्छौ
खुसी र आशाहरु पनि
पीडामा अनुवाद बनेर
तिमीलाई अँठ्याउन
हरपल मजबुत बन्छ
तिमी पक्कै चाहन्नौ
पीडालाई रोजूँ
तर विश्वास गर चाहनाले मात्र
तिम्रो पीडाको अन्त्य हुन्न
जब तिमी सन्तोषको भावलाई
काखी च्याप्छौ नि,
तब तिमीभित्रको पीडा
आफसेआफ खुसी र सन्तुष्टिमा
परिभाषित हुन्छ ।