बिहान भालेको डाकसँगै ब्यूझेँ
कोरोनाको लकडाउन
निदाउन मन थियो
चारै दिशा उल्ट्याङ पल्ट्याङ गरे
अहँ निदाउनै सकिनँ ।

१ बर्षको छोरो चिच्यायो, छोरोको चिच्याइसँगै
भोको छु, के पग्लिन्थ्यो र खाओस्
बूढीको झर्किँदै गरेको निरस आवाज सुनेँ ।
भोकको कुराले होला पापी भूडिँ करायो
छेउमै सुतेकी ८ बर्षकी छोरी मलाई कोट्याउँदै
बाबा भोक लाग्यो ।

भतभत पेट पेल्यो, जुरुक्क उठेँ
स्टोभ जलाउन पुगेँ
स्टोभको दमको आवाजले होला बूढी चिच्याई
एक हप्ता भयो तेल नभएको स्टोभ जल्दैन
चामल पनि त छैन
अँ अलिकती चिनी र चिया होला ।

बाबा चिया खान मन लाग्यो
छोरीको मधुर आवाजले स्तब्ध भएँ
स्टोभ जले पो
पानी गिलासमा राखेँ
चिनी र चियासँगै घोलँे
छोरी लाऊ चिया खाँदै गर
म खान लिएर आउँछु है, कुर्दै गर ।

सडकमा निस्किएँ, सुनसान सडक
कुकुरहरू कुदिरहेका, चराचुरुङ्गीहरू नाँचिरहेका
न हर्नको ककर्स आवाज, शान्त सुन्दर सहर
मान्छेको त्यो भीड कहाँ हरायो ?
लाग्यो मृत्यु पछिको सन्नाटा हो यो, मन विरक्तियो ।

हिजोझँै लम्किएँ लाइनमा बस्न
ऊ त्यहाँ खान बाढिरहेको छ
हो त्यही लाइनमा बस्न लम्किएँ
घरमा छोरा छोरी परिवार
सबै पर्खिरहेका छन् मलाई
मात्र मात्र एक छाँक पेटभरी खाने आशमा
मात्र एक छाक, हो मात्र एक छाक खोजिरहेका छन् ।