
रमेश लामिछाने
हरेक दिन
समाचार पढछु सुन्छु,
आज यति जनाको मृत्यु भयो,
ठूलो सङ्ख्यामा
कोरोना सङ्क्रमित थपिए।
कोरोना मानव जातिको लागि धेरै खतरा भयो।
फेरि सुन्छु,
मान्छे मानवबाट दानव बनेको
कस्तो ह्रदयविदारक,
कुटिकुटी मान्छे मारेको
कालाले गोराको घाँटी निमोठेको
नाबालिका बलात्कृत भएको
मान्छेले मान्छे मार्नको लागि
परमाणु बम बनाएको
अनि फेरि सुन्छु,
फलफूलमा
बिष्फोटक पदार्थ मिलाएर
गर्भिणी हात्तीको हत्या गरेको
जन्मिन नपाउँदै मर्नु परेको
प्रकृतिको
सुन्दर उपहारको विनाश गरेको।
सबै सुनेर पढेपछि भन्नै कर लाग्छ
सृष्टिको सबैभन्दा
कुरुप सिर्जना मानिस हो
जो अति नै क्रूर र संवेदनाहीन हुन्छ
पृथ्वीको
सबैभन्दा ठूलो भाइरस मानिस हो
र त्यसको सानो समाधान
कोरोना भाइरस हो।
म सृष्टिकर्तासँग
एउटै प्राथना गर्छु
कि यो मानवता हराएको शहरमा
मलाई मानव नबनाइदेऊ
अनि मानवलाई दानव नबनाइदेऊ।
जापान



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

