बद्रीप्रसाद ढकाल

आजकल कसैले बुझ्दैन
गरिबको झुपडीमा
कसरी बल्छ चुल्हो
कागजमा लेखिएको समृद्धि
सत्ताधारीको योजना

बिनावित्थामा थुपारिएको बोझ
कोटमा सिउरेको विद्दताले
फुट्दैन बाँझो खेत
फल्दैन अन्न थाहा छैन् ।
वैरागी काइँलाको मातेको भाषण पनि होइन जिन्दगी
न हेरेर बस्ने भूपिको बूढो घण्टाघरजस्तै पोखरीको नसा
चेप्टो ! छ
आयतन भन्नु पनि त भएन
मधुपानमा उत्रिएको नसामा
शून्य यथार्थ सम्हालेर
हावा झैं चपाइएको अनुहारमा
हराएको नयाँ सडकको गीतमा ढल्किएको
बूढो पिपलको रुखमा जोडिएको इतिहास साक्षी छ
झुन्डिएको एउटा किशोरको
बारेमा बोल्न सक्दैन जुद्ध शालिक
दिनानुदिन मारिएको छ
किताबको बोझले थिचिएको प्राध्यापकको चेतनाले
देख्न छोडेको छ शिष्यको दृष्टि
गोडा चारेक माना जाँड खाएर
छादेको रगतको मूल्य खोज्दै
यो देशको सीमामा जुलुंगो झैं
ठिंग उभिएको छ दशगजामा
राज्यको भविष्य !