दीपा परियार

दीपा परियार

गर्नुपर्ने खासै केही छैन
सुन है !
बाढी, पहिरो
आगो, खडेरी
हिमपात यत्ति सहनु !
कसैको जीवनकै जीवन निर्माण गर्न
अटुट, बलियो जग बसाल्दा
जस्तै, कुनै पत्थर बन्नु
अपेक्षा केही नगर्नु
घर, पर्खाल आलय (भवन)
घडेरी बनाउनु
यो तिम्रो कर्म हो ।

चाहे यो धाम (घर) बनाउन होस्
या त कसैको भविष्य बनाउन
तिमी लागिरहनु तर फल फिर्ता पाउने आश भने नराख्नु !
तर तिमी टुट्ने छौं
आश
विश्वास
टुटेझैँ तिमी टुट्ने छौ !
तर अनुभूति गरेझैं मात्र गर्नु
कुनै यथास्थानमा रहन्छु नभन्नु
ती तिम्रा अधिकार होइनन् र दिँदैनन् पनि
तिमीलाई तिम्रो इच्छाविरुद्ध नै तोडिन्छ
बस तिमी शान्त रहनु
चुपचाप रहनु
पत्थर बन्नु तिमी !
तिमीलाई अनेक थरि परीक्षा लिनेछन्
पीडा दिनेछन्, कष्ट दिनेछन्
तर पीडामा वरदान
कष्टमा दया, परीक्षा
तर तिमी भने प्रेम मात्रै दिनु
यी सब शिरोपर गर्नु, सहनु
पत्थर बन्नु तिमी !
तिमीलाई हरप्रकारका रङरुप देखाइनेछ
प्रहार घरीघरी गरिनेछ
दिनानुदिन गरिनेछ !
तर तिमी महान् बन्ने कर्ममा प्रेम मात्रै गर्नु !
अनि तिमी महान् छौ भन्ने कसैले देख्ने छैन
बस्, तिमीले महान् प्रेम गर्नु
अनि कर्म त्यसमै आउँछ
अनि मात्रै तिमी महान प्रेमकर्ता आफैंमा कहलाइने छौ !
बस्, सहन गर्ने पत्थर बन्नु तिमी !
छानीछानी, ताकीताकी हरेक तवरले
प्रहार तिमीमाथि नै गरिनेछ
हिर्काइनेछ तिमीलाई नै
शब्दकै
वाणले भए पनि /चोटले भए पनि
आभास गर्नु तर नदेखाउनु !
आदर्श बन्ने कोसिस गरिरहनु
पत्थर बन्नु तिमी
हुन त तिमी निर्दोष, अबोध, कोमल हौ
तर तिमीलाई ओल्टाइ, पल्टाइ गरेर
पिटिन्छ !
बेसहारा, थरथर काँप्दै
विवशता, बाध्यतामा समर्पित हुने गर्नु
तर चुपचाप, मौन बस्नु ।
बज्रन्छ्न्, ओइरिन्छ्न्
तर नरिसाउनु, प्रेम गर्नु
बलियो बन्नु
पत्थर बन्नु तिमी !
मारिनु, तोडिनु तर नरोकिनु
प्रत्येक कुराको मात्र स्पर्श गर्नु
अनुभूति गर्नु तर नदेखाउनु
बस्, पत्थर बन्नु तिमी
पत्थर बन्नु तिमी ।