(यो बयान हो मेरो जन्म भूमिको र
पत्र पनि हो हाम्रा छिमेकीलाई
किन नदिने यो भूमि तिनलाई भनेर )
—————
मेरो देश, हिमाल पर्वत जहाँ
हिऊँ सँधै झुल्दछन्!
पाखामा फूल फुल्दछन् जहिँ तहिँ
बास्ना खुबै छर्दछन् !
१
नेपाली जनको अपार धन हो
यो देश जलको धनि।
हो रत्नै सरिको अमूल्य निधि यो ,
दिन्न म बस्छु रमि।
२
शोभा दिब्य धरा हो प्राण सरिको,
नेपालीको जीवन!
लैजाऊ बरु प्राण दिन्छु सहजै
दिन्न यो भूमि छुन!!
३
सिमा सानो छ मेरो यो बगरको
माटो अमूल्य हिरा !
दिन सक्दिन लौ चिमोटी म भूमि
पारेर यस्को चिरा !!
४
माग्छौ लौ शिर यो झुकाई म बरु
यस भूमिमा आखिर !
चढ्न लौ छु तयार म पनि बली
यस देशका खातिर !!
५
यो हो देव भूमि यस विश्व भरमा
छैन है मुल्य कुनै!
यस्का खातिरमा छिनाई बरु लौ
दिन्छौ तीनकोटी शिरै
६
माटोमा नदी कलकल बगिकन ,
सिञ्चन जलैले गरी !
धर्तीका मुखमा दिई खुशी खुबै ,
नाचेकी हुन झैँ परी !!
७
पाखा पर्वत र तराई बनमा
संजीवनी फल्दछन्!
देशका काखभरि खनिज कति छन्
कुबेर नै बस्दछन्!!
८
धर्तीबाट बगि कति हिम नदी
देश उर्वरा पार्दछन् !
झर्ना कलकल बग्दछन जहिँ तहिँ ,
भूमि सबै रम्दछन् !
९
कस्तुरी मृग सावक हर घडी
हिमालमा खेल्दछन् !
चौरी खर्क अनि ति लेकहरुमा
पंख डोलाउँदछन् !!
१०
लस्कर शैल सबै यिनै धरणीको
हरपल सुरक्षा गरी !
मानवका हित खातिरै भनिकन
यो देव भूमिमा झरी !!
११
सूर्यको जव ज्योति पर्छ भूमिमा ,
हिमाल मुस्काउँछिन्!
चन्द्रैको नव कान्ति छाई धरणी
शोभा दिई हाँस्दछिन !!
१२
खै तिम्रो भूमिको न लोभ छ कति
सानै भूमिमा रमौ!
स्वर्गै लाग्दछ यो धरा हर बखत
यहिँ नै म बाँचौँ मरौँ !!
१३
मेचीको जलमा नुहाई शिर यो
काली पुगौ मन धुन!
यस्तो पावन यो भूमि अलिकति
दिन्न तिमीलाई छुन !!
१४
आऊ हेर्न र घुम्न यो शिव भूमि
हिमाल हेरि कन !
शान्तिका दुतको यो जन्म भूमिमा
गर्नु बसी प्रार्थना !!
१५
नेपाली मनका अपार धनि छन,
कुवेर झै छ मन !’
भूमि सानो छ मेरो यो जगतमा
अनमोल रत्न धन !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।