१.

सगरमाथा

मेरो
दरिद्रता देख्न नसकेर
ऊ एक नदी रोइदियो

तर, मैले
उसका आँसु पनि
बाँध लगाएर बेचिदिएँ ।

२.

सँगालिएको अतीत

तिमीले धेरै पहिले
पैसा भनेर दिएको पीपलको पात
बालापनको खेल सम्झेर सजिलै भुलिदियौ

म मूर्ख अझै त्यही पात लिएर
सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु ।

३.

अहिल्या

एक मुठी माटो हातमा लिएर
निर्मलालाई सम्झेँ
अनायसै मुखबाट निस्कियो –
“ हे ईश्वर ! किन यस्तो ? ”

त्यही माटोबाट एउटा आदिम आवाज आयो –
” म पनि उत्तर पर्खिरहेछु ।”