हिजो एउटा तस्बिर देखियो
कैयन मान्छे हाँसेको सहरमा
उनले जीवनको माया मारिरहेको
एउटा तस्विर
भोक, तिर्खा, समस्यालाई भुलेर
शान्त स्वभावमा झुन्डिएको थियो ।
दुधे शिशु र आमाको घाँटीमा
एउटै डोरीले जोड-जोड्ले बाँधिरहेथ्यो
आफ्नै बच्चाको माया थिएन
जिन्दगीको आश पनि थिएन
यस्तै-यस्तै नियतिमा
हिजो एउटा तस्विर देखियो ।
कोही थिएन कि भन्दियोस्
तिमी चिन्ता न लिएर बस्
भोकले मर्नु पर्दैन
म राहत लिएर आउँदैछु
दुःख, सुख हातेमालो गर्दै जाउँला
अतित, वर्तमान र भविष्य अङ्गाल्न सिकौं
आँसुको भाषा बुझ्दैन
डोरीले समाधानसित धैर्यता राख्दिन
अन्तत मान्छे मृत्यु रोज्छ
तैपनि मृत स्थानमा
बत्ती चम्किरहेको हुन्छ
बच्चाकोआँखामा आमाले हेरिरहेकी हुन्छे
उसको स्वर कानमा गुन्जिरहेको
हिजो एउटा तस्विर देखियो ।
मनमा व्यवहार केलाउँदै
आँखा चिम्ली रहेकी
निदाएको अभिनय
उही समयसित उभिएको
हावा चलिरहेको
बाँचेर पनि मरिरहेको
हिजो एउटा तस्विर देखियो ।
दुब्लो जीउमा घाँटीको हड्डीमाथि
सुर्किएको मसिनु दोरा
काखीमा दुधे बालक
भोकको सिकारमा
डोरीसँग बाँधिएको थियो
मृत्यु रोज्न नि
समयले एउटा मौका दियो
र त उनी कहिल्यै नफर्किने गरी
यात्रा तय गरेर
कसैले नभेट्ने ठाउँमा आमाछोरा
हिँडिरहेका छन्
अब भोक लाग्ने छैन
प्यासले दुःख दिने छैन
शान्त चुपचाप मनको
हिजो एउटा तस्विर देखियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।