आजसम्म यी आँखा मैले

मेरो भन्नै सकिनँ

जो दुनियाँसँग हरदम समागम गर्छ र गर्भवती हुन्छ

अनि आफैँ थन्किन्छ कालो टोड्काभित्र

ओथारा बसेर काड्छ, लाखौं बुँदहरुको बाक्लो डिम्मा

यी आँखा भन्दा शालिन बलात्कारी

अरु हुनै सक्दैनन्

मेरो आँखाबाट दृश्य खोसिएपछि

THE MY EYE भन्नै सकिनँ

 

बाँच्नको लागि खानै पर्ने कि

खानकै लागि बाँच्न पर्ने ??

मूर्दाघाटबाट उडेको नुनीलो धुवाँ खानै पर्ने हो भने

यो मुख मेरो होइन

जो लास निलेर अघाउँछ भने

कसैको वेदना तनतनी चुसेर

उसैका सामु पीडाको खिल्ली उडाउँदै हाँसिदिने,

कसैको प्रगाढ ममता र स्नेह लुटेर

धारिलो जिब्रोले आत्मियताको निर्मम हत्या गर्छ भने

अँहँ

होइन, हुँदै होइन

यो मुख मेरो हुँदै होइन

मेरो ओठबाट बोली लुछिएपछि

THE MY MOUTH भन्नै सकिनँ

 

आमालाई पाउले छुने

नेपाली पाउ कहाँ छ ?

जो पापको भागिदार हुनेछ

मलाई पापी पाउ पालेर पाप गर्नु छैन

जसले हरेक समय पाप गरिरहन्छ

यो जमिन टेकेर,यही माटो टेकेर

म धरतीलाई पुज्न चाहन्छु

जो मेरी आमा हुन्

मेरो पाउबाट पाप भइरहँदा पनि

जमिन बाँडिएर म उछिट्टिए पनि

THE MY MOTHERLAND भन्दै

अझ चर्को नारा लगाउने मै हुँ ।

 

परिवर्तन गर्न निस्किएको

एउटा बाठो कलम

जसलाई आफ्नै हातले अठ्याएपछि

के फुस्कन्थ्यो र दुनियाँ ?

यसरी ज्याद्रो साङ्लाले टनटनी कसेर

गोठमा एक हुल वस्तु बाँधे झैं

कागजमा एक मुठ्ठी सास भरेर

मेरो रुद्रघन्टीमा पासो लगाउने

यी जल्लादी हत्केला

म कसरी मेरो भनुँ ?

मेरो हातबाट अधिकार खोसिएपछि

THE MY HAND भन्नै सकिनँ ।

 

तिमीले तिम्रै लिपिमा

“THE MY” भन्दा

के हुन्छ, बुझ्दिनँ म

मैले मेरो लिपिमा

दमाई भन्दा

कसैले बुझाउनु पर्दैन

अब भन प्रिय पृथ्वी

तिम्रो कुन खण्ड लाई “THE MY” भनुँ?

तिमी मान्छेको कुन रंगलाई दमाई भन्छौ?