कति अल्झिनु अनुहारका आवरणहरूमा
जात र वर्णले छुट्याई छुट्याई
रगतका थोपा थोपाले
बराबरी सिँच्छ नि सिँच्दैन र ?
आज पोटोम्याकको किनारामा
म, भेरीको पानी उसरी नै घुलेर
बगिरहेको देखिरहेछु
सभ्यता र भव्यताले फड्को मारेर के भो र यहाँ
अन्तरमन साँगुरो गल्लीहरूमै भौतारिएपछि ।

यी गगनचुम्वी महलहरूको के अर्थ
जब, मानव मूल्य छिँडीमै सडाइन्छ भने
यी रक्षकका “बर्दीहरूको” के इज्जत
जब, प्राणै खिचेर लैजान्छन भने ।

बोलेकै छन् बोल्नेहरू
के गर्नु र सुन्नेले नसुने पछि
लेखेकै छन् जान्नेहरूले
के गर्नु र पढेर पनि नबुझेपछि ।

भो ! रोकिदिऊँ अब रगतको होली खेल्न
रंग, जात, वर्ग भन्दै निम्छरोको घाँटी रेट्न
मानव अस्थित्वको उपहास
हामीले सदियौं उडायौं यहाँ
रोग, भोक, गरिबीका खाल्डाहरू
पुर्न धेरै बाँकी छन् ।