टीकाराम विश्वकर्मा

न त मेरो घर छ, न त बस्ने ठाउँ
सडकमै हुर्किएँ, अनाथ मेरो नाउँ
दिनरात भौँतारी हिँड्छु, खानाको खोजीमा
कस्ले देलान् खानेकुरा, पैसा छैन गोजीमा ।

बोक्छु बोरा, माग्दै हिँड्छु थालमा
बुझ्दैनन् मेरो पीडा, उल्टै हिर्काउँछ्न् गालामा
झुत्रो लुगा खाली खुट्टा, शहर-बजार हिँड्ने
धेरै दिन भो भोको पेट, मलाई कस्ले पो सम्झिने?

जताततै दुःखकष्ट पीडा मात्र भेट्छु
फ्याँकिएका खाना टिपी भोक मेट्ने गर्छु
हिजो खोजी खाए आज के खाऊँ आहारा
म जस्तोको टुहुरोको कोही छैन सहारा।

गुमेको छ मेरो गाँस-बास-कपास
कतैबाट न्याय पाइएला कि लाग्छ मलाई आश
पढ्ने-लेख्ने मन छ तर कस्ले जिम्मेवारी लिने ?
बेबारिसे बालक म, ब्यथा कस्ले बुझ्ने?

सोलु दुधकुण्ड नगरपालिका 4, सोलुखुम्बु