बा भन्नुहुन्छ, पढ छोरी ।
भविष्यको आश छ विचरा !
आमा भन्नुहुन्छ, पढ छोरी ।
बुढेसकालको सुवास छ विचरा !
गुरु भन्नुहुन्छ , पढ चेली  सुन्दर परीक्षाफलको आभाष छ विचरा !
के पढ्ने र म छोरी  ?
अलमलमा पर्छु
खाली गृहकार्य  कापीमा पढ्नु  ?
यसो मनन गर्छु
म अङ्ग्रेजी पढ्छु अङ्ग्रेज बन्न
अमेरिका जानुछैन मलाई
गणित पढ्छु हिसाब जान्न
व्यवहार चलाउन जति जानेको छु मैले
सामाजिक शिक्षा
छैन पढ्ने इच्छा
आदिआदि

गोपाल काफ्ले

म भन्छु
यसबाट खास छैन आश
त्यसैले
स्कुल मलाई प्रणाम सिका
आदर सत्कार सिका
मान सम्मान माया र
मेलमिलाप सिका

स्कुल मलाई
पकाउन सिका
भोकका भोजनहरु
फकाउन सिका
पीडाका क्रन्दनहरु
स्कुल मलाई
बनाउन सिका
भत्केको देश
निर्माण सिका
जीर्ण भग्नावशेष
रोप्न सिका
प्रगतिका वीजहरु
व्यवहार सिका
मानवतावादी प्रगतिवादी …
स्कुल मलाई असल बन्न सिका
सफल बन्न सिका
सिउन सिका
लाजका भ्वाङहरू
भर्न सिका इमानका ढ्वाङहरु
स्कुल म
तँलाई छोडेर जाँदा अरुको आश गर्नु नपर्ने बना
प्रिय स्कुल मलाई आत्मनिर्भर बना
आफ्नै कमाइमा बाँच्न सक्ने बना
आफ्नै गोडामा जिउन सक्ने बना

प्रिय स्कुल
बनाउन त बनाउँदै छस् केही केही त
तर
कछुवाको चालामा
मलाई खरायो गतिमा बना
तैले सिकाए
म मलाई बनाउँछु त्यसपछि
म घर बनाउँछु त्यसपछि
म समाज बनाउँछु त्यसपछि
म देश बनाउँछु त्यसपछि
म विश्व बनाउँछु
स्कुल मलाई सिका सिपमूलक प्रविधियुक्त शिक्षा
स्कुल मलाई सिका स्वरोजगारमुखी आत्मनिर्भर शिक्षा ।