मान्छेले भाषा बनायो
र आज म खोजिरहेछु
तिमीले बोलेका हरेक शब्दमा अर्थ
तिम्रोआवाजमा मेरो नामको माधुर्य
भाषा बन्यो र म आज सीमित छु केही थान शब्दहरुमा
केही अक्षरको नाममा
केही यस्तो दुनियाँ होस्
जहाँ भाषाको आविष्कार भैनसकेको होस्
त्यो कुनै आदिम युगको हरियो जङ्गलमा
मृत्युबाट भाग्दै
जीवन सँगै हिँड्दै
तिमी बोल्थ्यौ होला
आफ्नै मधुर स्वरमा
र, त्यहाँ हुने थिएन
भाषा र अर्थको सीमितता
त्यहाँ,
तिम्रो आवाजको मीठास अगम्य हुने थियो
त्यो अर्थहीनताको फैलावटमा
म बनाउने थिएँ आफ्नै अर्थहरु
महसुस गर्ने थिएँ
त्यो अनुराग
जुन भाषामा व्यक्त हुनै सक्दैन

युवराज पराजुली

तिम्रोआवाजमा अटाउने थियो
मुटुभरिको प्रेम
अँगालोभरिको सामीप्य
आँखाभरिको निकटता
ओठभरिको यौवन

तर एक दिन, मान्छेले भाषा बनायो
र लगाइदियो आगो
भावनाको त्यो विराट फैलावटमा
र आज म,
म खोजिरहेकोछु यो हावामा
त्यो आदिम युगको खरानी !