हजुरजस्तै
म पनि यही देशको नागरिक हुँ सरकार !
मैले केही मागिनँ हजुरसँग ।

जसरी मागे हजुरको चम्चेहरूले
मन्त्री
जसरी मागे हजुरको भान्सेहरूले
सांसद
जसरी मागे हजुरको सालोहरूले
राजदूत
जसरी मागे हजुरको सहयोगीहरूले
ठेक्का पट्टा
वा
अतिरिक्त कमाई हुने भन्सार ।

यो माग्ने समयभरी
मैले दिइरहँे हजुरलाई
रिक्सा चलाएवापत कर
अन्नबाली फलाउन हलो जोतेवापत कर
माटोमा टेकेवापत कर
रोड र पुलहरू बनाउँदा
मजदुरी गरेवापत ज्याला कर ।

जसरी छल्थे हजुरका प्रशासकहरू
घुसखोरी कर
जसरी छल्थे हजुरका उद्योगीहरू
आयत निर्यात कर
जसरी छल्थे हजुरका व्यापारीहरू
मुनाफा कर
मैले कहिल्यै छलिन त्यसरी
देशको लागि तिरिरहेँ कर ।

यतिखेर
म मर्न लागेको छु भोकले
लकडाउन छ संसार ।
भोकले
रोटीबाहेक अरू केही सोच्दो रहेनछ
रोटीबाहेक अरू केही देख्दो रहेनछ ।
हजुर भने
भान्सामा मासु पकाएको फोटो पोस्ट गर्नुहुन्छ
साबुन कम्पनीको मालिकले जस्तो भन्नुहुन्छ–
‘खाउ–पिउ र मज्जाले मिचि मिचि हात धोऊ ।
बाहिर ननिस्कछ महामारी ।’

हजुर भोकको अगाडि
महामारी ?
मृत्यु ?
त्रासदी ?
अरे ! छाडिदिनुस् यी वाहियात कुरो
बाँचियो भने
यी त फुर्सदमा सोचौंला ।
हजुरसँग कहिल्यै नमाग्ने म
माग्दै छु पहिलो चोटि
एक मुठी सामल ।
हजुर भने सम्झिदै हुनुहुन्छ ख्याल ठट्टा
र खेल्दै हुनुहुन्छ मेरो संवेदनामाथि खेल ।

जसरी सुने हजुरले
चम्चेहरूको बिन्ती
जसरी सुने हजुरले
भान्सेहरूको चाप्लुसी
जसरी सुने हजुरले
सालोहरूको घुर्की
जसरी सुने हजुरले
सहयोगीहरूको गुनासो
सुन्नु भएन
मेरो माग जो थियो सानो ।

अहो !
यो विपतको घडीमा पनि
मैले हजुरलाई हजुर–हजुर भनिरहनु पर्ने
हजुरले चाहिँ आफ्नो कर्तव्य बिर्सने ?
पर्ख
सोचेको छस् तैंले हामीलाई सधैं बुटको तलुवा बनाइराख्ने ?