नीरज लवजू

रोबोटहरूले मानिसलाई पनि रोबोट ठान्छन् सायद ।
त्यसकारण
उसले बुझ्दैन मानिसभित्र पनि मानिस हुन्छ भन्ने कुरा ।

मानिसका आँखाले भावना सञ्चार गर्छन्
मानिसका ओठमा गहिरो अनुभूति निहीत हुन्छ
मानिसका आँसुको स्वाद हुन्छ
हाँसोको गन्ध हुन्छ
पाइलामा वेग हुन्छ
सुस्केरामा तेज हुन्छ
यस्ता सबै मानिसलाई रोबोटले बुझ्दैन सायद ।

रोबोटहरूले मानिसलाई पनि रोबोट ठान्छन् सायद ।

त्यही भएर
उसले मानिसका आँखाका भावनालाई डेटा ठान्छ
ओठमा पोखिएको हाँसो कुन चिप्सको कमाल हो ?
उसले हिसाब गर्छ ।
आँसु उसको लागि मात्र पानी हो
उसको स्टोरेजमा रेकर्ड भएको
हाँसोलाई मात्र डिरेक्सन ठान्छ
रिमोटको नक्साले खिचेको

रोबोट चाहन्छ मानिस पनि आफूजस्तो बनोस् ।

आफूजस्तै गणितमा चल्ने
डेटाको इसारामा काम गर्ने
रिमोटको भरमा चल्ने, नाच्ने, हाँस्ने
वेस्वादको आँसु झार्ने
भावना नभएको हाँसो हाँस्ने
थकान नभएको सुस्केरा सुसेल्ने
लक्ष्य नभएको पाइला चाल्ने

रोबोट चाहन्छ मानिस पनि आफूजस्तै बनोस् ।

ऊ चाहन्छ मानिसले गाओस्
कसैले थोपरेको गीत
ऊ चाहन्छ गहमा भरियोस्
स्वाद नभएको आँसु
ऊ चाहन्छ व्यर्थको
हाँसो हाँसोस् मानिस

थकानले चुर मानिस उसलाई अल्छी लाग्छ
मस्त निदाएको मानिसलाई मृत ठान्छ ऊ
प्रेममा डुबेको मानिस
उसलाई पृथ्वीको भार लाग्छ
मानिसको पसिना
उसलाई ऊर्जा उत्सर्जन नहुने पानी लाग्छ ।

रोबोटले मानिसलाई देखाउँछ
आफूले खनेका रोपनी
बोकेको भारी
ठोकेको किल्ला
ठड्याएको अटालिका
टंकन गरेको पुस्तक
छिचोलेको दुरी
अनि रोबोट चाहन्छ मानिस आफूजस्तै बनोस् ।

तर, उसलाई थाहा छैन
फूलको सुगन्ध,
अंकुराएको बीउको कोमलता
यात्राको गन्तव्य
अटालिकाका कोठा कोठाका उछ्वास
अक्षरमा अनुभूति
किल्लाले जोडेका खण्ड
उसलाई थाहा छैन
मानिसभित्र पनि मानिस हुन्छ
सबभन्दा भयानक कुरा त
आफूलाई मानिसले बनाएको सत्य
थाहा हुँदैन रोबोटलाई ।