गोविन्द गिरी प्रेरणा

तिमी सुत, सुतिराख
तिमी निदाऊ, निदाइराख
तिमी सपना देख, देखिराख
अब तिम्रो भागमा सपनाबाहेक
केही पनि बाँकी छैन !
भज गोविन्दम् ।

तिमीले दिएको
वा नदिएको
त्यो मतपत्रले
प्राप्त भइसकेको छ शासकलाई
तिमीलाई निर्बिघ्न शासन गर्ने
अनन्त अधिकार
भज गोबिन्दम् ।

अब तिमीले
कसरी हाँस्ने वा रुने
अब तिमीले
कसरी बाँच्ने वा मर्ने
अब उसो केके गर्ने
त्यसको निर्क्योल गर्नेछ शासकले
भज गोविन्दम् ।

अपठित शासकले
दिनेछ विद्वत्ताको भाषण
ज्ञान विज्ञानका अभिभाषण
तिमीले पालन गर्नुपर्ने आचरण
तिमीले समर्थन र विरोध गर्न पाउने
सम्पूर्ण विषयको सूची दिनेछ उसैले
भज गोविन्दम् ।

छूट हुनेछ चाकरहरुलाई
छूट हुनेछ हुक्केहरुलाई
छूट हुनेछ द्वारेहरुलाई
छूट हुनेछ बाहिरिया बाहिरिनीलाई
छूट हुनेछ भित्रिया भित्रीनीलाई
ख्वामित शासकले
सुन्नेछन् मात्र तिनका आवाज
हराउनेछ तिम्रो आवाज
ख्वामितको मूलद्वार बाहिरै
भज गोविन्दम् ।

ख्वामितले देख्ने छैनन्
दु:ख पीर व्यथा
ख्वामितले सुन्ने छैनन्
गरिबीको अनन्त रोदन
ख्वामितले बुझ्ने छैनन्
पहिरो गएको मनको व्यथा
भोकलाई निषेध गरिएको छ
शोकलाई निषेध गरिएको छ
लौ कसरी तिनले मुण्टो उठाउने
लौ कसरी तिनले प्रवेश पाउने
भज गोविन्दम् ।

सुत र सुत्दै गाऊ
भज गोविन्दम्
उठ र उठ्दै गाऊ
भज गोविन्दम्
निदाऊ र निद्रैमा गाऊ
भज गोविन्दम्
सपना देख र सपनामै गाऊ
भज गोविन्दम्
गाऊ
गाऊ
भज गोविन्दम्
भज गोविन्दम्।