त्यो दिन मेरी उनीलाई
मेरै आँखाले कोही सँग
कफी सपमा देखेँ
आँखाले देखेका सबै कुरा सत्य हुँदैनन्
भन्ने अपवादलाई छोडौं
कारण, म चिन्छु उसको छायालाई,
गालाको त्यो कोठीलाई
कफी सँग समय मात्र साटिएको भए हुन्थ्यो भनेर कामना गरिरहेको
मेरो मनलाई मेरा आँखाहरूले
मन पनि साटियो कि कतै भनेर दबाब दिइरहँदा
उसका मसिना पाइलाहरू जब अडिए कफी सपको काउन्टरमा
अनी हाम्रा नजरहरू नमज्जाले ठोक्किए
घाइते म पनि भएँ, घाइते उनी पनि भइन
दुबैले आ-आफ्ना घाइते मन बोकेर रातमा घरको दैलोमा भेट्यौ
नजर झुकाएकी उनी र नजर उचाएको म बीच कुनै संवाद भएन
आज हामी दुई घर आँगन गरिरहँदा उनको आँखा मात्र होइन शिर पनि झुकेको छ
यता मेरो सिङ्गो मन दुखेको छ
म त उनलाई उनले भन्दा बढि प्यार गर्ने मान्छे
त्यसैले मेरो मायावी मुटुले उनलाई आरोपित घोषित गर्न सकेन
एउटा शंका आँखामा गढेको छ
जसलाई उनका आँखाहरूले पढ्न सक्छन्
त्रास र भयका जालाहरू प्रश्ट देखिने उनका आँखाहरूलाई
म पनि त पढ्न सक्छु
त्यसैले बजारबाट आज कालो चस्मा किनेर ल्याएको छु
र लगाएको छु मेरो आँखाको सङ्कालाई छोप्ने गरेर
अब उसको आँखा र मेरो आँखा जुधे भने पनि
हामी दुई
हाम्रा आँखाका भावहरूलाई महसुस गर्ने छैनौँ
र निर्धक्क फर्कने छौँ पुरानो जिन्दगीमा
कालो चस्मा भित्र कैद भएका मेरा आँखाले
उनीलाई अझै पनि देखिरहन्छ कहिलेकाहीँ
कफी सपहरूमा, पार्कहरूमा, अनी कहिले साँघुरा गल्लीहरूमा
तर पनि हाम्रो सम्बन्ध
कालो चस्मा कै कारण स्थिर छ
कालो चस्मा लगाएरै मेरो उनी प्रतीको मायामा कुनै घटाउ भएको छैन
लाग्छ, कालो चस्मा केवल चस्मा रहेनछ
यो त विस्वासको चस्मा रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।