
आकाश खुलेपछि मन उज्यालो हुन्छ
उज्यालो मनका क्षितिजहरूमा
नीला आस्थाहरूले जीवनको गीत गाउँछन्
अनि बगैँचाभरि रोपेका सपनाका बीउहरू
मुस्कुराउँदै उठेर
अनगिन्ती अठोटका डोरेटोहरू कोर्छन्
म एक अँगालो घामका किरणहरू आफैसँग बोकेर
तीनै अठोटहरूसँग
जीवनको गन्तव्य खोज्छु
किनकी म मान्छे हुँ ।

डिबी कट्टेल
आकाश खुलेपछि हृदय पुलकित हुन्छ
पुलकित हृदयका खोपीहरूमा
अध्यारा रातहरु निमिट्यान्न हुन्छन्
अनि भरोसाभरि मोती झैँ टिलपिलाएका शीतहरू
हातेमालो गर्दै
अनगिन्ती सिर्जनाका आभाहरू छर्छन्
म एक अँगालो सपनाका बिटाहरु आफैसँग बोकेर
तिनै आभाहरुसँग
जीवनको अर्थ खोज्छु
किनकी म मान्छे हुँ ।
आकाश खुलेपछि सूर्य पनि मुस्कुराउँछ
मुस्कुराएको सूर्यको छातीमा
चिसा बादलहरू मैन झैँ पग्लन्छन्
अनि क्षितिजभरि रसाएका कलिला प्रेमहरूमा
विश्वासहरू हुर्कँदै
अनगिन्ती शुभेच्छाहरूका हजारौं फुलहरू फक्रन्छन्
म एक अँगालो यथार्थहरू बोकेर
तिनै फुलहरूसँग
जीवनको मर्म खोज्छु
किनकी म मान्छे हुँ ।
र त बाँच्नु छ जीवन खोज्दै
र त प्रेम गर्नु छ सपना सजाउँदै
र त बुझ्नु छ म हुनुको यथार्थ
किनकी म मान्छे हुँ ।
गन्तव्य नपुग्दै काँडाहरू बिझ्न सक्छन्
तर्न कठिन भगालाहरू हुन् सक्छन्
जीवनको आकृति नबन्दै
गिद्धहरूले
सपनाका तस्बिरहरू चिथोर्न सक्छन्
म एक भारी आशंकाहरु आफ्नै छायासँग बटुलेर
यिनै परिवेशमा
स्वच्छ जीवनको पर्याय पनि खोज्छु
किनकी म मान्छे हुँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

