
उमेरले छिप्पिएको
अनुहार बिग्रिएको
दूधमा पौडी खेलेर
दूधकै चिसो लागेर
रोगाएको ढाडे बिरालो
अरुलाई पिरल्नु
पराल झैँ दूध छिरल्नु
मनलागे खाइदिने
नत्र पोखाइदिने
बदमास ढाडे बिरालो

गोपाल काफ्ले
बिराली भेट्टाए जुँगा मुसार्छ
जिब्रोले आफ्नै ओठ चाट्छ
ओठ रसिलो पार्छ
र्याल काढ्छ
अरुलाई छाड्छ
बिरालीलाई चाट्छ
र डेरा आँखाले हेर्छ
अरुलाई
कामुक ढाडे बिरालो
अरुको भागको मासु खान्छ
अरुको भागमा आँसु बाँड्छ
मेरै चाकरी गरोस् भन्छ
अरुलाई भोकभोकै
मरे पनि मरोस् भन्छ
सर्वचीजले मात्तिएको ढाडे बिरालो
चोरी चोरी खाएर काँधिएको ढाडे बिरालो
शत्रुको घेरामा छु कि भनी
आत्तिएको ढाडे बिरालो
आफ्नै रापले तात्तिएको ढाडे बिरालो
बिरालीको अगाडि धमास देखाउने
बिरालीकै वशमा परेर महाभारत मच्चाउन समेत पछि नपर्ने
पात्तिएको ढाडे बिरालो ।
सुन्दरी सबै मेरै भन्छ
ठूलाबडाका अगाडि अझ ठूलो बन्छ
अरुको ‘प्रणाम’ लाई प्राण सम्झिन्छ अरुको आदर सम्मानलाई
ऊ वास्तै गर्दैन
अरुको अर्ति सुझाव -सल्लाह लिँदै लिँदैन
सबैभन्दा ठूलो मै हुँ भन्छ
आफूलाई आफ्नो र अरुको
देवता ठान्छ
ठालु ढाडे बिरालो
त्यो घमण्डको भकारी हो
उसको म्याउ ……लाई पनि
बाघको गर्जन सम्झन्छ
शोक न सुर्ता … भने झैं,
अरुको भाग घोप्ट्याउन पाए
अरुको नाक
नेप्ट्याउन पाए
रमाउँछ
बाटो काटिदिन्छ
जाने बेलामा
पुच्छर तेर्स्याइदिन्छ
खाने बेलामा
समागमको सङ्ग्राम मच्चाउँछ
सुत्ने बेलामा
म्याउ गरेर मुड बिगारिदिन्छ
उठ्ने बेलामा
त्यो विवेकहीन बूढो
ढाडे बिरालो
गाउँघरको ढाडे
वडाको ढाडे
पालिकाका ढाडे
जिल्लाका ढाडे
क्षेत्रका ढाडे
केन्द्रका ढाडे
सबै मिलेर बाँडे
यो बाँडे
त्यो बाँडे
सबै बाँडे …
पाल्नभन्दा फाल्न जाति त्यो
स्वार्थी ढाडे बिरालो
मुसा मार्दैन
घरको रखवारी गर्दैन
उल्टै घरका मान्छेलाई
उसले पालेको घमण्ड गर्छ
घर बिग्रिएको मतलव छैन
छिमेकी ढाडेहरु
बिरालीहरु
समेत बोलाएर
आफ्नो घर फोहोर गराउँछ
घरकालाई नराखी
अरुलाई बाड्छ
पोखाउँछ
पठाउँछ र
सिध्याउँछ
त्यो मनको बदमास्
धनको कन्जुस्
घरभित्रकै चोर
नियममा नीच
पुण्यको पापी
अवसरको अपराधी
कुलकै धुन्धुकारी
ढाडे बिरालो
पत्रपत्रिका टिभी रेडियो
सामाजिक सञ्जालहरुमा समेत
हेर्न मन लाग्दैन आजकाल
ढाडे बिरालो !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 





