राजेश कुमार विष्ट सिजापति

मुटुभित्र मातृभूमिको अथाह माया सँगाल्दै
राष्ट्रियता समाजवाद सुसंस्कृति अँगाल्दै
भातृत्वप्रेम विश्व वन्धुत्व अनि
दयामायाले ढुङ्गालाई पनि पगाल्दै
अविरल यात्रामा अघि बढिरहेछन्
शान्तिको खोजीमा मेरा पाइलाहरु

दुःख पीडा रोदन क्रन्दन अभिशाप अनि
सामन्तीका शोषण पीडन कुरीतिका जंघारहरु
लोभ मोह ईर्ष्या धोका द्वेष घृणा पार गर्दै
नसानसामा दया करुणाको सागर बगाउँदै
अविरल यात्रामा अघि बढिरहेछन्
शान्तिका खोजीमा मेरा पाइलाहरु

चर्म चक्षुले नठम्याएका दृष्य परिदृष्यहरु
दिव्य चक्षुले अनुभूति गर्दै उद्देश्य उडी चन्द्र छुन
चिसा अँधेरी रातहरुलाई जूनताराले सेक्दै
गृष्मका तापमानलाई पसिनाले छेक्दै
अविरल यात्रामा अघि बढिरहेछन्
शान्तिका खोजीमा मेरा पाइलाहरु