साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मेरो आत्मदाह

Chovar Blues Mobile Size

न आमा न बाबा न छोरो न छोरी
मलाई झझल्को भयो मृत्यु फेरी
छु दोधारमा के हुने हो नगर्न
म चाहन्न आगो लगाएर मर्न ।।१।।

भयो प्यार धोका जमाना अघोरी
म मेरा बचेरा ल पालौ कसोरी
लगाएर आगो म आफ्नै सरीर
डढेको छु प्यारी नमान्नू ल पीर ।।२।।

गरी काम यौटा म पाल्थेँ जहान
छ जे जे त्यसैले भरेथेँ परान
भयो बन्द भन्छन् गरौ के म मात्रै
कटे रात भोकै छु बेकामकोझैँ ।।३।।

गरेँ यत्न जुध्ने यहाँ दु:ख देखि
गरे याचना ए दयावान देवी
बलेको छ आगो म भित्रै अनौठो
मरेको छु भित्रै ज्युँदो लास नै हो ।।४।।

न जागीर केही न पैसा छ केही
न खेती छ जोत्ने न आफन्त कोही
हिडौँ बन्द सारा छ यो देस मेरो
न ढुंगा र माटो मिलेको छ चारो ।।५।।

कहाँ जिन्दगानी भनेझैँ भयो र
म बन्दी भएको नयाँ साल हो र
नयाँ बस्त्र किन्ने र खाना नि खाने
भयो स्वप्न मात्रै भने जिन्दगी के ।।६।।

sagarmani mobile size

छ जाती र पाती यहाँ भेदभाव
सबैँ पेट खाली र दानी अभाव
भयो कर्म यस्तै छ बेकार बाँच्नु
बुझे श्रीमतीले सबैँ माफ गर्नु ।।७।।

जलेरै खरानी हुने देह हो यो
म चाँडो खरानी भएँ त्यै छ नौलो
बिना काम के के गरौँ भोक टार्न
म सन्तान रूँदा सकौला स्विकार्न  ।।८।।

(भुजंगप्रयात छन्द)

(गत सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा साँफेबगर नगरपालिका-६ का २५ वर्षीय सिद्धार्थ आउजीले कोरोनाको कहरका कारण कामबाट निकालिए पछि  परिवार पाल्न नसकेर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेको सन्दर्भमा)

प्रतिक्रिया
Loading...