मर्ने बेलामा कात्रोमा गोजी हुँदैन
के पो लैजाने तरखरमा छौ ट्रक भरेर
अर्को लोकमा जानलाई कुनै सवारी हुँदैन
के पो गर्छौ अकुत सम्पत्ति थुपारेर
अर्को लोकमा लानलाई मालगाडी हुँदैन
आफूसँगै लानलाई सन्दुक हुँदैन
मर्ने बेलामा कात्रोमा गोजी हुँदैन ।
मर्ने बेलामा कात्रोमा गोजी हुँदैन
कता लुकाउने तरखरमा छौ
कडोरौं रुपैयाँका अनगिन्ति थाक
किलोमा तौलेर नसकिने
सुनचाँदी र जुहारतका आकर्षक गरगहना
बोरा, थैला, सन्दुक जेसुकैमा भर
अर्को लोकमा लाने कुनै जरिया हुँदैन
बोकेर सँगै लाने कुनै भरिया हुँदैन
मर्ने बेलामा कात्रोमा गोजी हुँदैन ।
आलिशान कैयौं बङ्गला देशभर तिम्रा होला
राजा नभए पनि रजौटाको हैकम त होला
महङ्गा गाडीले तिम्रो रोबरवाफ बढाएको होला
बैंक, बिमा, शेयर बजार लगानीमा तिम्रो चकचकी होला
उद्योग व्यापारमा तिम्रो ब्रान्डको एकछत्र दबदवा पनि होला ।
कति गर्छौ अहंकार झूटो सान सौकतको
दैवको सामुन्ने तिम्रो औकात के हो ?
नश्वर यो देह ढल्छ नै यहीँ
लाँदैन अन्त कसैले गल्छ नै यहीँ
कस्ले पो लगेकोछ आफ्नो सर्वस्व मृत्युशैय्यामा
बाँच्नेको बर्चस्व हुन्छ तिम्रो समस्तमा
काम, क्रोध, लोभ, मोह जति ईर्ष्या गरे नि
परलोकमा काम लाग्ने कुनै कुरा होइनन् ती
खाली हात आएर खाली हातै जानुछ
कमाएको सबैथोक यहीँ नै छोडेर जानुछ
अर्को लोकमा लानसक्ने केही हुँदैन
मर्ने बेलामा कात्रोमा गोजी हुँदैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।