पदम विश्वकर्मा

रुकुम रोइरहेछ आज
भेरीसँगै सुसाइरहेछ नमीठो लयमा
भीरपाखामा गुन्गुनाइरहेछ नमीठो भाकामा ।

सधैँ हराभरामा रमाउने रुकुम
शितलतामा रमाउने रुकुम
आज खडेरीको उजाडजस्तै फुस्रिएको छ
दन्केको आगोजस्तै जलिरहेको छ ।

रुकुम तिमी,
दशौं वर्ष लडिरह्यौ
– स्वतन्त्रताको खोजीमा
– प्रजातन्त्रको खोजीमा
– भेदभावको अन्त्यको नाममा
– सामन्तवादको अन्त्यको नाममा र
– लडिरह्यौ गरिबहरुको पक्षमा ।

लडाईंमा,
– तिम्रा सिद्धान्त र दर्शनको अनुसरण गरिरह्यौँ
– तिम्रा विचार र भावनाको सम्मान गरिरह्यौँ
– छातीमा गोलीहरु थापिरह्यौँ– जीवनको बाजी लगाएर
– जंगलमै बितायौँ कलिलो उमेर–आफ्ना बा-आमा बिर्सेर
– भोकभोकै बितायौँ कैयन प्रहरहरु –गरिबको सुदिन पर्खेर
– घाम-पानी भनेनौं फगत–मुक्तिको बाटो कुरेर
– झरी बादल भनेनौँ कहिल्यै–समानताको सुदिन सम्झेर
– निरन्तर बन्दुक बोकिरह्यौं–उज्यालो दिनको कल्पना गरेर
– निरन्तर ढलिरह्यौं–सुनौलो भविष्य सम्झेर
तर रुकुम तिमी,
– आफैँले रोपेका दर्शन र सिद्धानहरु बिर्सेर
– आदर्श र ज्ञानहरु बिर्सेर
– विभेदकारी बनिरह्यौ
– अत्यचारी बनिरह्यौ
– नरसंहारकारी बनिरह्यौ ।

रुकुम,
तिम्रो आँगनमा नरसंहार हुँदा– तिमी चुपचाप बसिरह्यौ
तिम्रो आकाशमा कालो बादल मडारिँदा– तिमी मौन बसिरह्यौ
कलिला युवाहरु क्षतविक्षत हुँदा– तिमी अन्धो बनिरह्यौ
भेरी नदी रगतमा पौडँदा– तिमी अमूक बनिरह्यौ ।

बोल रुकुम,
सत्य सत्य बोल
तिम्रै आँखाअघि ढुन्मुनाएका लासहरुको पक्षमा बोल
तिम्रै आँखाअघि बगिरहेका अनाथ युवाहरुको पक्षमा बोल
तिम्रै चेलीको चोखो प्रेमको पक्षमा बोल
तिनै निमुखा र पीडित आत्माहरुको पक्षमा बोल
र बोल,
आँशु बगाइरहेका मृतकका आमाहरुको पक्षमा बोल ।