प्रिय कमरेडहरू !
समयले निक्कै फड्को मारिसकेको छ
मेरो भौतिकवादी दर्शनमा रम्ने कमरेडहरू !
तपाईंहरूका झण्डा देख्दा म खुशी छु
मेरो दाडी देखेर धेरैले दाडी पाल्न सिक्नु भयो
त्यसमा झनै खुशी छु ।
मेरो फोटो टाँसेर घरघरमा चोकचोकमा
अझै वार्षिक सराद्धे गरिरहनु भएको छ
त्यसकोको पिण्ड पनि पाइरहेको छु
त्यसैले आजसम्म टन्न अघाइरहेको छु ।
आशा छ¬ यस्तो गरिरहनुहुनेछ मेरो मार्क्सवादका नाममा
मैले निक्कै चपेटिएर –जकडिएर द्वन्द्ववादको दर्शन बनाएँ
त्यसैमा द्वन्द्व गरिरहेको पाएको छु तपाईंहरू
त्यसमा झनै खुशी छु ।
प्रिय कमरेडहरू !
यही हो मेरो दर्शनको सार द्वन्द्व गरिरहनुपर्छ
भुँडी भरिरहनुपर्छ…
तपाईंहरूलाई मुरीमुरी धन्यवाद !
मैले जीवनभरि श्रमिकहरूका लागि लडेँ
तपाईंहरूले श्रमिकहरूलाई लडाइरहनु भएको छ
मेरो दर्शनको विकास र विस्तार देखेर खुशी छु
मैले इतिहासलाई सङ्घर्ष भनेँ
मैले जातिभन्दा जीवन महत्त्वपूर्ण भनेँ
सीमाभन्दा भूगोल महत्त्वपूर्ण भनेँ
तर तपाईंहरूले उल्टाइदिनु भएछ
मैले शोषणरहित विश्व एउटै देश भनेको थिएँ
तर तपाईंहरूले एउटै देशमा अनेक देश¬प्रदेश बनाउनु भएछ
धन्यवाद ! मेरो दर्शनको विस्तार गर्नु भएछ ।
तपाईंहरूले इतिहासका निम्ति सङ्घर्ष रच्नु भयो
जसरी भए पनि आफूहरू त बँच्नु भयो
शोषणै शोषणले मरिरहेका धेरै श्रमिक त मरेछन्
एउटाले आएर मेरो दाडी गोड्यो¬
अनि जिङ्गयो¬Éके लछार पाटो लगायो तेरो दर्शनले
खाना नपाए पनि रगत र पसिना त खाएका थियौँ
तर…… तेरा अनुयायीले हठात् युद्धमा झोसिदिए
जिन्दगी खोसिदिए …।
अहिले बिल्ला भिरेर अतिथि बनेर हाम्रो बलिदानीको नाटक हेर्दैछन्
शहर शहरका रङ्गमञ्चहरूमा…।”
म रोएँ मेरा सपनाहरूलाई सम्झेर
तपाईंहरूको विपनालाई नियालेर
चकित छु म चकित बिल्कुल चकित ।
प्रिय कमरेडहरू !
तैपनि म खुशी छु भन्दैछु…
मैले धर्मलाई अफिम भनेको थिएँ
तर तपाईंहरूले त मलाई अफिम बनाउनुभएछ
खाएर मत्त हुनुभएको रहेछ
मैले यसो चियाएर हेरेँ तपाईंहरू त साँच्चिकै मार्क्सवादी हुनुभएछ
घाँसवादी हुनुभएछ– गाँसवादी हुनुभएछ।
धन्यवाद ! कमरेडहरू
यस्तै वादी बन्दै जानुहोला
लालसलाम ! क्रान्तिकारी अभिवादन !
कृपया अब मेरो तिथि सराद्धे नगरिदिनुहोला
म आफैँ जोहो गरूँला दानापानीको … ।
तपाईंहरूको उही कमरेड मार्क्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

