बालुवाटार
पुगेपछि
नोकरहरू
मालिक हुन्छन्
नेताहरू
शासक बन्छन्
सखाहरू
प्रशासक हुन्छन्

मागिरहन्छन्
उसलाई परिचय

क्रान्तिमा हुँदा
एउटै थालमा
खाएको
खुट्टा बोकाएर
संगै सुतेको
आफ्नो सट्टामा
उसले छातीमा
गोली थापेको
बिर्सन्छन्

मागि रहन्छन्
उसलाई परिचय


आज
बालुवाटारको
गेटमा उभिएर
आफ्नो परिचय
प्रष्ट पार्न नसक्दा
एक पटक फेरि
सोचिरहेको छ

उसको नेता
यस्तो हुनै सक्दैन
उसको सखा
कसरी बदलिन सक्छ ?
पक्कै
यो बालुवाटारको
जादु टुना हुनुपर्छ

त्यसैले
आगामी चुनावमा
उसको नेता
उसको सखा
गाउँ आएको बेला
वालुवाटार
फेर्ने बाचा
गराएर मात्र
भोट हाल्ने
अठोट लिएर
भरि आँखा वालुवाटार हेर्दै
आफू हिँडेको बाटो

उल्टो नापिरहेको छ ।