मैले भुलिसकेको
शहरको साँघुरो गल्लीबाट
उनको कोमल औँलाहरूले
कोरेको चिठी आयो ।

संघर्षको पहाड सजिलै जित्ने मन
सागरहरू भेट्न सुसाएको मुहान।

ए यो मनलाई चरी पासोमा
पारिरहने त्यो निश्चल तन।

हजारौँ सपना त्याग्न मन छ
बस् स्वीकार्छु भनिदेऊ न ।

यो हावाको झोँक्का फिक्का छ यहाँ
के गर्दैछौ होला तिमी त्यहाँ।

तिमीले सुनाएका किस्साहरू
प्यारो लाग्न थालेका छन् ।

हँसिया र डोको
बरियो र गुन्टासँग सहयात्रा गर्ने छ धोको।

बस्, चिनाऊ परिवेश तिम्रो
सहुँला रमुँला ती दर्दहरूमा।

सम्बोधनपछि प्रश्नहरूको चाङ थियो
अनि उनको नाम थियो।