अम्बीका श्रेष्ठ

तिम्रा फोहोरी राजनीति सहेकै थियौँ
देशको नीति फोहोरी बनायौ सहेकै थियौँ
मूल्य बृद्धिले सगरमाथा नाध्यो
गरीबको बाँच्ने आधार चुडायौ
तै पनि सहेकै थियौँ
हेर त आज
सडकका गल्ली गल्लीमा फोहोर थुपारेर
देशलाई राजनीतिले दुर्गन्धित पारे जसै
सहरहरुलाई दुर्गन्धित बनाएर
फोहोरमा तिम्रा भविश्य खोतल्न थाल्यौ
किन फोहोरमा राजनीति हाल्यौ ?

नीति बनाउँछु भनि हात जोड्यौ साथ दियौँ
देश बनाउछु भन्यौ साथ दियौँ
तिम्रा विकास समृद्धिको नारालाई साथ दियौँ
तिमीले उपचारको नाममा
परिवार कार्यकर्ताको खाममा
देशलाई चुस्यौ
तै पनि साथ दिएकै थियौँ
तर आज फेरि
किन फोहोरमा फोहोरी राजनीति मिसायौ ?

एक चोटी सोच त
तिमी नेता भएकैले
फोहोरका किराले तिमीलाई नछुने हो ?
तिमीलाई देखेर हैजा भाग्ला त !
तिमीलाई सास फेर्न
दुर्गन्धित हावाले नि सहज हुने हो ?
कि तिम्रा घर अगाडि
फोहोर चुलिएको छैन ?
तिमीले त गरेनौ ठीक छ
गर्छु भन्नेलाई किन गर्न दिदैनौ
यसरी किन फोहोरमा फोहारी राजनीति पसायौ ?

फेरि एकपल्ट मात्र होइन पटक पटक सोच
आफ्नो सहरको सुन्दरता जोगाउँनु
वातावरण स्वच्छ र सफा राख्नु
जनतालाई मात्र होइन नि
तिमीलाई नि आवश्यक होला
देश लुट
जनतालाई झुटमुटले उल्लु बनाऊ
तर प्रकृतिलाई नलुट
जब प्रकृति रिसाउँछ नि
यहाँ  तिमीलाई नै छानी छानी खाने
अर्को कोरोना जन्मेला
फोहोरमा तिम्रा भविश्य नखोज
अब फोहोरमा फोहरी राजनीति नहाल
फोहोरमा तिम्रा भविश्य नखोज

दोलखा, नेपाल