माइकल बिष्ट

बाबा र मेरो सम्बन्ध
कति सरल छ
तर त्यति नै अनौठो पनि

बाबा
खुसीका पोकाहरू फुकाउनका लागि
मलाई रोज्नुहुन्छ
अनी म
दुःखका पोका बिसाउनका लागि
बाबालाई रोज्छु

रोज्न त हामी एक अर्कालाई नै रोज्छौं
बाबा मलाई रोज्नुहुन्छ
म बाबालाई रोज्छु

तर
बाबा
आफ्ना बहादुरीका कथा सुनाउन मलाई रोज्नुहुन्छ
अनी म
आफ्ना मनका व्यथा सुनाउनका लागि
बाबालाई रोज्छु

सरल छ सम्बन्ध
तर
त्यति नै अनौठो पनि

बाबा
आफ्नो हृदयरूपी बारीमा खुसीका बोटहरु
लटरम्म फल्दा मलाई सम्झिनुहुन्छ
अनी म
आफ्नो हृदयरूपी बारीमा रोपेका खुसीका
बोटहरु खडेरीले सुक्नै लाग्दा बाबालाई सम्झिन्छु

सम्झिन त हामी एक अर्कालाई नै सम्झिन्छौं
बाबा मलाई सम्झिनुहुन्छ
म बाबालाई सम्झिन्छु

तर बाबा
छिमेकी घरमा घर को छानो हाल्दा काटेको मासु भाग लाउँदा
मलाई सम्झिनुहुन्छ
अनी म
महिनौं सम्म काटेको मासु भाग लाउने पैसा नहुँदा
बाबालाई सम्झिन्छु

साँच्चै
सरल छ सम्बन्ध
तर
त्यति नै अनौठो पनि

बाबा
बुधबारे मेलामा मै जस्तो आकृतिको बेच्न राखियको गुडिया देख्दा मलाई खोज्नुहुन्छ
अनी म
त्यही बुधबारे मेलामा बेच्न राखिएको मै जस्तो आकृतिको गुडिया किन्न पैसा नपुग्दा बाबालाई खोज्छु

खोज्न त हामी एक अर्कालाई नै खोज्छौं
बाबा मलाई खोज्नुहुन्छ
म बाबालाई खोज्छु

तर बाबा
आफूसँग सबै थोक हुँदा
मलाई खोज्नुहुन्छ
अनी म
आफूसँग केही नहुँदा
बाबालाई खोज्छु

बाबा
आफूलाई साथ दिन सबैजना हुँदा
मलाई पनि खोज्नुहुन्छ
अनी म
आफूलाई साथ दिन कोही पनी नहुँदा
बाबालाई खोज्छु

साँच्चै
गणितका गुणन भाग सहितको सरल
जस्तो कठिन छैन हाम्रो सम्बन्ध
हाम्रो सम्बन्ध
गुणन भाग बिनाको सरल झैं
सरल छ
हाम्रो सम्बन्ध बाँधिएको छैन
जसरी बाँधिएका छन गणितका हिसाबहरु
सुत्रमा
हाम्रो सम्बन्ध बाँधिएको छ त केबल एउटै
नियममा
एकोहोरो दिइरहने नियममा
बाबा
एकोहोरो
दिइरहनुहुन्छ माया ममता र प्यार
अर्ती उपदेश अनी स्याहार
बिना कुनै हिसाब किताब !