मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादित भएकी थिएँ
जसको पहिलो रुवाइमा
म आमा बनेको खुसीले रोएथेँ
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथेँ
जसको पापा मामा शब्दले
म पुलकीत भएथेँ
जसले खाँदा म अघाएथेँ
जसले निदाएसी निदाएथेँ
त्यही छोरो तिमी आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।
बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाऊ पुरै लैजाऊ ।
यो आँगन लैजाऊ
यो मझेरी लैजाऊ
जहाँ तिमी खेल्ने गर्थ्यौ
तिम्रा लागि म खेलिदिन्थेँ
तिमीजस्तै बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाऊ
तिम्रै खुसीमा लुटाएथेँ मैले जो
त्यो यौवन लैजाऊ
लैजाऊ सबैथोक लैजाऊ
बस् मलाई नलैजाऊ
किन माग्छौ अंश बाबु
लैजाऊ पुरै लैजाऊ ।
तिमीलाई बाह्रखरी लेख्न सिकाएथेँ
आँगन बाहिर टेक्न सिकाएथेँ
तिम्रा कलिला दाँत दुख्लान् भनी
चपाएर खुवाएथेँ
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथेँ
घाम लाग्दा छाता बनेथेँ
पानी पर्दा ओत बनेथेँ ।
बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
विशाल संसार हुन्थ्यो
विशाल रङ्गमजञ्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तीले हान्थ्यौ
छातीमै मेरो
म असह्य पीडा पनि बिर्सन्थेँ
र चुमिदिन्थेँ तिम्रा कलिला पाऊ
अनि माडिदिन्थे दुख्यो कि भनी
मेरो छातीमा हान्दा ।
तिमीलाई लोरी सुनाएका
ती साँझ लैजाऊ
आमा म ठूलो भएसी पाल्छु भन्थ्यौ नि
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथेँ
ती सबै याद लैजाऊ ।
मात्र छाडी देउ मलाई
तिम्रो सहारा बनी बिताएको
मेरो एकल र उधारो जवानी ।
मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथेँ
तिमी जन्मेपछि मलाई लान्छाना लगाउँदै
तिम्रो छालाको रङ्गमा शंका गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै फर्केर आएनन्
घरको हेला र समाजको तिरस्कार सहेँ
घाम पानी र पसिना सहेँ
समाजको नजरमा वेश्या बनेँ
समाजले बोक्सी भने
अलक्षिना भने
जे जे म थिइनँ ती सबै बनेँ
अक्सर एक्ली महिलालाई
समाजले अनेक अनेक सजाय दिदो रहेछ
ती सबै तिम्रै खातिर सहेँ ।
ती सबै मलाई छाडिदेऊ ।
लैजाऊ तिम्रो स्वाभिमान लैजाऊ
लैजाउ तिम्रो अभिमान लैजाऊ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाऊ
तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाऊ
सास फेर्ने अलग्गै बतास लैजाऊ
तिम्लाई चाहिएला यो आकाश लैजाऊ
मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाऊ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाऊ
जो म तिम्री हुन सकिनँ
मलाई मसँगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।