भन्नुहोस् सरकार !
म कहाँ सुरक्षित छु
घर भित्र वा बाहिर
गाउँमा वा राजधानीमा ?

भन्नुहोस् सरकार !
म कुन प्रकोपबाट सुरक्षित छु ?
भूकम्प बाढी पहिरो
हिंसा दुर्घटना वा महामारी ?

भन्नुहोस् सरकार !
तपाईँ कुन भ्यू टावर
वा मचानमा हुनुहुन्छ ?
म यो देशको भूगोलमा
नाङ्गो आकाश ओढेर
भोक र रोगसँग लडिरहेको
देख्नु हुन्छ तपाई ?

किशन पाैडेल

अभावको पहिरोले पुरिएको
मेरो गाउँ देख्नु भो ?
बन्द बाकसमा शोक ओढेर
भूगोल फर्केको शव हेर्नु भो ?

दिन दाहडै
स्कुल जाँदा पानी पँधेरो गर्दा
मेरो अस्मिता लुटिँदा
मैले हार गुहार गर्दा
न्यायको भिख मागेर
चिच्याई रहेको मेरो आवाज
के तपाईँ साँच्चिकै सुन्नुहुन्छ ?

भन्नुस् सरकार !
म कहाँ सुरक्षित छु ?

मेरो एक एक रगतको थोपाहरूले
लेखिएको छ यो भूगोलको इतिहास
तपाईँको त्यो उचाइको मचानमा पुग्ने
लिस्नुको एउटा खुड्किला हुँ म पनि

मेरै पसिनाका
बुँदहरूमा आहाल खेलेर
म जस्तो निम्छरोलाई सकस दिने
म यो देशको संविधानको कुन धारामा
दर्ज भएको नागरिक हुँ
भन्नुहोस् सरकार
म कहाँ सुरक्षित छु ?

 

हेटौंडा