सपनाहरूलाई चितामा जलाएर
रहरहरूको मलामी गएको दिनपछि
म साँच्चै आफ्नो नियन्त्रणमा छैन
तिमी भगवान बेच्छौ भगवानको मन्दिर बेच्छौ
म शरीर बेच्छु नाङ्गो तस्बीर बेच्छु
लेख्नै बिर्सिएको आफ्नै तकदिर बेच्छु !
मेरो जात छैन
धर्म छैन
कुनै एक विशेष पुरुष छैन
दिन र रातको फरक अर्थ छैन
बस् ! फिक्स एउटा मूल्य छ ।
उत्तेजनालाई मत्थर बनाउन
वासनाको स्खलन गर्न
मलाई नाङ्गो बनाउन
आतुर मन र
लालायित तिम्रा हातहरूलाई
आकर्षक चाहिएन
कामुकता चाहिएन
केवल सम्भोग चाहियो
सन्तुष्टि चाहियो !
एड्सले ग्रसित तिम्रो राजधानीमा
यत्रतत्र छरिएका कुहिएका
फोहोरका डिब्बाहरूमा
गनाइरहेका यथार्थहरू
दर्शन – बिज्ञान
विचार – विकार
राजनीति – कन्डम
स्वतन्त्रता – नियम
निर्लज्जीत चेतनाहरु
सामूहिक बलात्कार
सामूहिक भ्रष्टाचार
के यही हो ?
मानव सामूहिकताको सार ?
माफ गर
तिम्रो राजनीति भन्दा
मेरो वेश्यालय नियम अनुसार चल्छ !
ए माल !
ए रण्डी !
ए वेश्या !
दिने गर्छौ –
घृणाका अनेक उपनामहरु
तर के तिमीलाई थाहा छ ?
संसारकै सबैभन्दा क्षयग्रस्त
वेश्यालयमा जन्मिएको बच्चाले पनि
आमाकै कोख भर्छ
आमाकै स्तन चुस्छ
कविहरुले लेखे जीवन संघर्ष हो
दार्शनिकहरुले लेखे जीवन रहस्य हो
भन्नेहरुले भने जीवन घामछाया हो
ए कोही त बुझाइदेऊ मलाई
जीवन दुई थोपा आँसु हो कि
दुईथोपा वीर्य ?
(हामीले भाइरल कविता शीर्षकमा नयाँ स्तम्भ सुरू गरेका छौँ, जसमा दोस्रो कविता आर्यश शर्मा घिमिरेकाे ‘वेश्याको विज्ञप्ति’ प्रस्तुत गरेका छौँ । याे कविता बेला–बेलामा फेसबुक पेज तथा ग्रुपहरूमा वास्तविक सर्जकको नाम उल्लेखै नगरी भाइरल बनिरहेकाे हुन्छ भने कतिले आफ्नै नाममा राख्ने गरेकाे पनि पाइन्छ । हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।