म जन्मे, मैले चाहेर होइन
जहाँ जन्मे, मैले रोजेको थिइनँ ।
नत देश रोजेँ, नत गाँउ रोजेँ
नत जात रोजेँ, नत परिबार रोजेँे ।
आमाले भन्नुहुन्थ्यो
बाबु तिमी जन्मिदा खुसीले सिमा नाघेको थियो
तिम्रो त्यो रुवाइले यो घरको सन्नाटा चिरेको थियो ।

मैले कहिलै देखिन मेरी आमा सुतेको
नत कहिलै देखँे, कुनबेला उठ्नु हुन्थ्यो ?
कहिलै महसुस भएन तिनी थाकेकी होलिन
थाहा नै पाइन मैले उनी भोकै भोकै
भुटेको मकैको न्याम खुवाउँदी रहेछिन मलाई ।
नाङ्गो खुट्टाले, च्यातिएको लुगासँगै
टालिएको त्यो एउटै गुन्युचोलोमा देखेको मैले
मेरो आमा गरिब, दुखी र सहाराहिन थिइन
पत्तो नै पाइन ।
मैले मेरी आमा सबभन्दा राम्री, धनी, दयावान, शक्तिशाली देख्थेँ
यसरी बित्यो मेरो सुन्दर बालापन ।

झोला बोकेर मेरो साथीहरू
१ घण्टापरको रातो घरमा गएको हेर्दथँे ।
म किन गएको थिएन ?
मैले कहिल्यै आमालाई सोधिन पनि
नत साथीहरूलाई सोधेँ
बरु साथीहरू, हे दुर्गे आइज पढन जाऊँ भन्थेँ
मैले जान्न है म त बाख्रा चराउन जानुछ
आमा साहूकोमा काम गर्न जानु भएको छ
यसरी उत्तर दिएको मानसपटलमा झल्झल्ली छ ।

एकदिन मैले आमालाई सोधेकी थिएँ
आमा मेरो साथीहरूको बुबा छन्
मेरो पनि बुबा होलान नि है आमा ?
आमाले एकछिन अकमक्किएर भनेकी थिइन
थिए, भारतमा काम गर्न गएका
तिमी पेटमा आएको ६ महिना भएको थियो
खै के भयो, आज सम्म फर्केका छैनन ।
आज पनि मेरो मानसपटलमा घुमिरहेको छ
उहाँले आखाँभरी टलपल्लिएको त्यो आँसु पुछेको ।

१६ बर्षको जवानीसँगै
आमालाई चिने, तिनका दुःख, तिनका दीर्घरोग
ति नाङ्गा खुट्टा र आँङ
४० बर्षमै ७० को देखिने चाउरिएको मुहार
साहूको कचकच १८ घन्टा भौतारिएको
लखतरन मेरी आमाको सुस्केराले
मलाई गिजाइ रहेको हुन्थ्यो ।
आफैँले आफूलाई गाली गरे र सम्झाएँ
दुर्गे अब तेरो पालो
आमाको काँधको जिम्मेदारी फेर्ने दिन आयो
अब तेरो पालो, अब आमाले सक्दिनन् ।

एकदिन मकैको ढिडो ओरल्दै गरेकी,
आमाको कपाल सुम्सुमाउँदै भने
आमा म पल्लोघरको दाजुसँगै भारत जान्छु
त्यता काम पाउँछरे, उतै काम गर्छु
अब मेरो पालो हो आमा ।
तपाईँले दुःख गर्नु पर्दैन धेरै
तपाईँको सुखको दिन आउँदैछ
ति अन्तरे आमा जस्तै तपाईँलाई
आँगनको डिलमा सुताएर पाल्छु है आमा ।
यति के भने थे धुरुधुरु मेरो आमाको
आँखाबाट बगेको त्यो आँसु रोक्न
घन्टौं लागेको आज पनि सम्झनामा ताजै छ ।

आमाले फूलको माला र टिका लगाएर
हेर काइला, छोरो तेरो जिम्मा भयो
छिट्टै फकिर्नु है, कमाउछु भन्छ
मलाई जमिनदार्नी जसरी पाल्छ रे ।
बरबरी आँसु झारेर बिदा गरेकी झल्झल्ली आउँछ ।

खै हामी अभागिको कर्म नै त होला ?
३ महिना भएको थियो काम थालेको
कोरोना भाइरस आयो रे, संसार बन्द भयो
अलिकती पैसा जम्मा गरेको थिएँ
एक्ली आमाको यादले सतायो
सबै बन्द थियो ।
मलाई रोक्ने कसले ?
१४ दिनको यात्रासँगै नेपालको सिमानामा पुगे
नेपालको माटो समाते, ढोगे, आमाको यादले झन सतायो
खै क्वारेन्टाइन रे यतै बस्नु पर्नेरहेछ
भोकभोकैको त्यो लामो यात्रा, चिसो भुइँमा लस्करै सुते
पानीको प्यास, खाली पेट
मत बिरामी परेछु अस्पताल त हाम्रो कर्ममै छैन
त्यही भोमिट गर्दा गर्दै प्राण त्यागेछु ।

मान्छे खोजिरहेको छु
आमाको लागि जोगाएर ल्याएको
हजार रुपैया पुर्याइ दिने
अनि माफी मागिदिने आमासँग
आमा मैले तिम्रो दःुख स्याहार्न सकिनँ
मलाई माफ गरिदिनुहोला है ।
अनि आमा मलाई बताइदिनुहोला
म मरे कि मारिएँ आमा ?