दीप मानन्धर

समेट्न खोजे शब्दहरुमा जति छन् तिम्रो लागि मनका यी मेरा भावनाहरु
पुरा शब्दकोश नियालीसकें पाइन मैले शब्दहरु जसले न्याय दिन सकोस्
सुनाउँ कसरी म दुनियाँलाई, हाम्रा प्रेमका कथाहरु
अधुरो अपुरो कथाहरु

व्यथा जति अँगाल्दै छु म खाली खुट्टा पाइला अघि सार्दै छु म
भिजेर आफू आँसुको वर्षातमा तिमीलाई दाहिने पार्दै छु म

सधैं सबै सधैं सबै जस्तो ठाउँमा विरानो गाउँमा
मैले तिमीलाई दिएको प्यारो नाउँमा
अल्झिएको छु म

बल्झिएको छ नमेटिने घाउ सायद
आउनु मलाई बताउनु कहिले काहीँ कति आउँछ मेरो नामको याद भनेर

समयले नेटो काटिसक्यो झैं लाग्छ
हर रात अनिदो नै बिति जान्छ म बसेको छु दिनहरु गनेर
म बसेको छु हरेक दिनहरु गनेर

निद्रामा बेहोसिँदा पनि सपनाहरुले साथ छाड्दैन
देख्छु म इन्द्रधनुषको फेदमुनि बसेर
तिमी सँगै प्रेमिल पलहरु बिताइरहेको

जब तन्द्रामा हुन्छु पाउँछु म सासहरुको मालाले पनि
केवल तिम्रै नाम जपिरहेको नितान्त त्यही नाम जपिरहेको

मलाई आभाष हुन्छ अनि महसुस पनि
कति सत्यता थियो तिम्रो वचनहरुमा

यहाँ म भ्रममा परेको छु हरेक दिन आँखै अघि थोरै थोरै मरेको छु

मानिसहरु पल्टाउन खोज्छन् मलाई किताबको पाना सरी
सर्सरी हर घडि घरि घरि
कदाचित् अन्दाजनै लगाउन सकिनौ होला जब थिएँ म तिम्रो साथमा
कतै टाढा रहेरै पनि अन्तर्मनदेखि भित्र भित्रै माया गरेको छु
मैले मात्र तिमीलाई माया गरेको छु

म लडेको छु सम्हालिन खोज्दा खोज्दै पनि
उठेर टक टकाई धुलो निरन्तर अघि बढेको छु
बाँचेकै छु साँचेकै छु पीडामा पनि हाँसेकै छु
दुखमा पनि नाँचेकै छु म निरन्तर अघि बढेकै छु

अनुरोध मेरो आफ्नो अन्तरात्मालाई सोधी हेरन खोजी त हेर तिमी आफू भित्र

कहाँ थियौ तिमी कहाँ थिए म ?
कहाँ जाँदैछौ तिमी कहाँ पुग्दै छु म ?
कहाँ छौ तिमी कहाँ छु म ?
अन्त्यमा कहाँ हुनेछौ तिमी हुने छु वा हुने छैन म !