पीआर आकाश

कुचीकारको हातमा कुचो देख्दा
बढारुँ बढारुँ लाग्छ
बरु स्कुल बसको खलासीलाई खुसी देख्छु
काम त्यतै सारुँ सारुँ लाग्छ
पियन दाइको हातमा गजो देख्दा
घण्टी ठोकूँ ठोकूँ लाग्छ
बाटोमा जिन्दावाद र मूर्दावादको
नारा घन्काउँदै ओहोर दोहोर गरेको देख्छु
पाटीको झण्डा बोकूँ बोकूँ लाग्छ
के भाको होला कक्षामा पसेर
विद्यार्थीहरुसँग बसेर
पढाउँन फिटिक्कै मन लाग्दैन
म सोच्छु
शिक्षकलाई अरु
काम गर्न नपठाएर
किन पढाउन पठाएका होलान् ?
तै पनि जबरजस्ती कक्षामा पस्छु
ध्यान किताबको पानाबाट
थाहा नदिई फुत्तफुत्त घडीमा
आएर अड्किन्छ
घडीको सुई अल्छि बनेको देख्दा
मलाई झन अल्छि लाग्छ
अनि मनमनै झपार्छु
कति सारो ढिलो हिँडेको हँ
फेरि ध्यानलाई किताबकै पानामा
फर्काउने कोसिस गर्छु
यसैगरी दिन बिताउँनुछ
महिना बिताउँनुछ
वर्ष वर्ष जोडेर साठी कटाउँनु छ ।