वर्षौंदेखि बजारमा
छ्यापछ्याप्ती छन
कुनै हँसिया हतौडाका ब्राण्ड
कुनै रुख छापका ब्राण्ड
कुनै गाई चिन्हका ब्राण्ड
कुनै एक तारे ब्राण्ड
अझै नाम नचलेका त
कत्ति हुन कत्ति ब्राण्ड
गुणस्तरहीन ब्राण्डहरुले
भरिभराउ देशमा
फेरि अर्को ब्राण्डको
भोलि न्वारान हुँदैछ।
माथ्ला घरका दाजु
भन्दै थिए
अस्ति हँसिया हथौडा
ब्राण्डको विज्ञापनमा
मासु भात खाइयो
हिजो रुख छाप ब्राण्डको विज्ञापनमा
छोइला चिउरा रक्सी खाइयो
केही समय ताका
तेरो छानो फेरिदिन्छु
तँलाई रोजगार दिलाइदिन्छु
नानीहरुलाई सुन्दर अक्षर किनिदिन्छु भनि
एक तारे ब्राण्डले खुब कान भरिदियो
बिचरा मेरा अभावहरु
मलाई नै दबाब दिएर
आस्वासनमा अल्झिए
र
राता फेटा बाँधियो
मसाल बोकियो
कतिका सिउँदो उजाडियो
कतिलाई टुहुरो बनाइयो
कतिलाई अपाङ्ग बनाइयो
साँच्चै डुङ्गालाई टेकेर
नदी पार गर्नेहरुले
डुङ्गालाई कहिल्यै
नसम्झने रहेछन्
म सम्झँदा सम्झँदै यति सम्झिएछु
कि चिसो चुल्हो हेर्दा हेर्दै
मेरा नानीहरु भोक अघाएरै
सँधैका लागि निदाए
अनि मात्र म झस्किएँ
वर्षौंदेखि जुनजुन ब्राण्डहरु
मैले प्रयोग गर्दै आएँ
ती त सुन्दर प्याकेजिङभित्र
सजिएका विशाक्त
ब्राण्ड पो रहेछन्
जसको प्रयोगले
म मात्र होइन सिङ्गो
देशलाई अहिले पखाला
चलिरहेको छ
ए हजुर !
विज्ञापन र प्याकेजिङको भर नपर्नुहोला
आजदेखि
गुणस्तरको ब्राण्ड
चिन्ने पालो तपाईँको ।
राज यात्री लम्साल
हाल : युएई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।