समयले समयलाई पछाऱ्यो
लालाबालाहरू सयपत्री फूलको माला भिरेर परदेश हिँडेका
बालुवाको राप र मरूभूमिको अनकन्टारमा कताकता रूमलिएर
फर्कदा काठको बाकसमा फर्के
सम्भव रहेनछ सोचेको
जिजीविषा
असम्भव रहेछ
मृगतृष्णा !
सम्भव र असम्भवको पनि अचम्मको द्वन्द्व हुँदोरैछ
सम्भव
स्निग्ध सफा र सकारात्मक
असम्भव
कुटिल जाली र फटाहा
हुन् संकेतहरू
तर
जब सम्भव र सम्भावनालाई असम्भवको तगारोले छेकिदिन्छ
सम्भव पनि असम्भव भैदिन्छ
के हामीले समृद्धि पाउन सम्भव थिएन ?
छम्-छम् नाचेकी प्रकृति
कल-कल सुसाई रहेका खोला-नाला
पाहाडको छाती फुटाल्न सक्ने पाखुरा भएका
वीरहरूको देश !
आज अर्काको देशमा
मुग्लान पसेर गहभरि आँशु बोकेर टुलुटुलु हेर्दै रून्छन्
गोर्खाली !
हिमालको उचाई सम्झेर भक्कानिन्छन्
जति उचो हिमाल छ
त्यति नै नीच भए चाटुकारहरूका हुल
लागिपरेका देखिन्छन् सम्भवलाई
असम्भव बनाउन् ।
कसरी सम्भव हुने स्थितिको सपना
असम्भवको तुवाँलोले ढाकेको होला ?
के यो गोर्खालीको वीरभूमिमा
प्रकृतिले सजाएको समृद्धिको बगैंचा माँझ
थपक्क बसेको यो मुलुकको अनुहारमा
हर्षको लाली फक्रन के सम्भव थिएन ?
किन आज असम्भव लाग्छ ?
सम्भव
एकथरी सम्भवलाई असम्भव बनाएर
देशको रगत चुसिरहेका छन्
रक्तपिपासुहरू
अझैं पल्याक पुलुक्क हेर्दै गरेको देखिन्छन्
असम्भव छ मूर्खहरूलाई सम्झाउन
सम्भव छ उधमीलाई बाटो देखाउन
असम्भव छ लोभीपापीलाई देशप्रेमी बनाउन
अव त सवै सम्भवहरू असम्भव लाग्न थाले
असम्भवले सम्भवको घाँटी थिचेको छ
नअघाएका मतियारहरू
असम्भव कर्तुत गर्दै हिँडे
सम्भवको त अब सम्भावना पनि देखिँदैन भन्छन् देख्ने सुन्नेहरू
कोही उत्तर लागे कोही दक्षिण ताक्छन्
अव त सम्भवलाई पछारेर असम्भव गर्नेहरू बढे
विकास होइन विनासको पदचाप पो सुनिन्छ
चाल मारेर सुस्तरी आउदैछ
एउटा नसोचेको भविष्य
सम्भवको सम्भावना देखिँदैन
असम्भव चै बरू सम्भव हुँदैछ
कतै नभएको जात्रा
तीन करोड नेपाली
अविरल हेर्न वाध्य छन्
सम्भव असम्भवजस्तो देखिन्छ
असम्भव सम्भव !
८/५/२२
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।